सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीबाट अझै पश्चिम सरेन मनसुन

नेपालमा मनसुन भित्रिएको आज एक हप्ता पुगेको छ । गत मंगलबार नेपालको पूर्वी भू–भागबाट भित्रिएको मनसुन सोही दिन गण्डकी प्रदेशसम्म पुगेको थियो । नेपाल भित्रिएकै दिन गण्डकी प्रदेशसम्म पुगेको मनसुन त्यसभन्दा पश्चिम अझै जान सकेको छैन ।

अरेवियन सागरमा रहेको विपर जोय चक्रवातका कारण मनसुन गण्डकीबाट पश्चिम सर्न नसकेको मौसमविद् रोजन लामिछाने बताउँछन् । अहिले सुदूरपश्चिममा क्षेत्रमा भइरहेको वर्षा पनि मनसुनी वर्षा होइन । पश्चिमी र स्थानीय वायुको प्रभावले भएको वर्षा हो ।

‘अब क्रमशः विपर जोय चक्रवात कमजोर हुँदै छ । त्यसैले अबको एक–दुई दिनमा यो चक्रवात पूर्णरूपमा कमजोर हुनेछ र नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुनेछ,’ मौसमविद् रोजन भन्छन्, ‘जोय चक्रवात कमजोर भएपछि अबको एक–दुई दिनमा गण्डकीबाट पश्चिम सर्दै मनसुन सुदूरपश्चिमसम्म पुग्नेछ ।’

औसतमा मनसुन नेपाली प्रवेश गरेपछि देशभर फैलिन पाँचदेखि सात दिन लाग्छ । तर, यो वर्ष औसतभन्दा केही दिन बढी लाग्ने देखिएको उनको भनाइ छ । नेपालमा मनसुन भित्रिएको आज आठ दिन भएको छ । तर, मनसुन गण्डकी प्रदेशकै आसपाससम्म मात्रै सक्रिय छ । त्यसबाट पश्चिममा पश्चिमी र स्थानीय वायु सक्रिय छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार ०७:५६