वर्षापछिको बाढी र पहिरोका कारण पाँचथरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुङ्गेलका अनुसार हालसम्म दुई जनाको मृत्यु भएको छ भने पाँच जना अझै बाढी–पहिरोमा बेपत्ता छन् ।
बाढीले मेची राजमार्ग अन्तर्गत हेवा खोलाको पुल बगाउँदा पाँचथर–ताप्लेजुङ यातायात सम्पर्कबाट विच्छेद भएको छ । त्यसैगरी, पाँचथरका धेरै पुलहरू भत्केका कारण धेरै मानिस विस्थापित भएका छन् । राहत तथा उद्धारमै समस्या उत्पन्न भएको छ ।
बाढी र पहिरोले जिल्ला नै आक्रान्त भएको बेला पाँचथरका एक मात्र संघीय सांसद वसन्त कुरमा नेम्वाङलाई भने आफ्नो व्यापारको मात्र चिन्ता जागेको छ । पाँचथरमा बाढी र पहिरोले धेरै जनधनको क्षति भएको बेला आइतबार पूर्व मन्त्रीसमेत रहेका सांसद नेम्वाङ भने हेलिकप्टरबाट सुटुक्कै आफ्नो हाइड्रो हेरे फर्केका छन् ।
नेम्वाङ हेवा खोलामा सञ्चालित माथिल्लो हेवाखोला हाइड्रोपावरका मालिक हुन् । जनता बाढी पहिरोले आक्रान्त बनेको बेला सांसद नेम्वाङले आइतबार सुटुक्कै आफू मालिक रहेको हाइड्रो हेरेर फर्केका हुन् । बाढी र पहिरोले ठूलो क्षति पुर्याएपछि आइतबार पाँचथरको सदरमुकाम फिदिममा जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको थियो ।
फिदिममा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक
छलफलमा सहभागी एक नेताले भने, ‘तत्काल उद्धार र राहतका छलफल चलिरहेको बेला पाँचथरको आकाशमा अकस्मात् हेलिकप्टरको आवाज सुनियो, देखियो । कसैले राहत र उद्दारको लागि पहल थाले होला भनेर पीडित जनतामा आशा जाग्यो । तर, त्यो हेलिकप्टरमा त माननीय वसन्त नेम्वाङ आफ्नो हाइड्रो हेर्न आउनुभएको रहेछ । सुटुक्कै आफ्नो हाइड्रो हेरेर फर्कनु भएछ ।’
वसन्त सञ्चालक रहेको उक्त हाइड्रोमा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि सञ्चालक छन् । आइतबार हेलिकप्टरबाट नेम्वाङ र श्रेष्ठ हाइड्रो हेर्न पुगेका थिए । आम निर्वाचनमा कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेलाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
नेम्वाङलाई आफ्नो ब्यापारको मात्र माया लागेको बेला नेम्वाङसँग पराजित भएका आङदेम्वे भने उद्धार र राहतका लागि छलफलमा जुटेका थिए । नेम्वाङले हेलिकप्टरबाट आफ्नो हाइड्रो हेरिरहेको बेला आङदेम्वे भने जिल्ला विपद् व्यवस्थापन समितिको छलफलमा थिए । उक्त छलफलमा प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश अर्थमन्त्री इन्द्र आङ्बो, राजनीतिक दलका जिल्ला प्रतिनिधि र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू छलफल गरिरहेका थिए ।
जिल्लामा ठूलो प्राकृतिक विपत्ति आइलागेको बेला भोट दिएर जनप्रतिनिधि बनाएको नेम्वाङलाई भने आफ्नो व्यापारको मात्र चिन्ता भएको भन्दै पाँचथरे जनताले आक्रोश पोखेका छन् । त्यसो त पाँचथरमा वसन्तको पहिचान राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिभन्दा पनि व्यापारिकै रुपमा स्थापित छ । लामो समयदेखि एमालेकै राजनीतिमा सक्रिय भएर मन्त्रीसम्म बने पनि उनको ध्यान व्यापार व्यवसायमै केन्द्रित रहेको आरोप लाग्ने गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं