क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो । विभिन्न प्रकारका क्यान्सरका कारण वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको छ । क्यान्सर बढी खतरनाक र घातक हुनुको मुख्य कारण समयमै पत्ता नलाग्नु पनि चिकित्सकहरू बताउँछन् ।
एक रिपोर्टका अनुसार धेरैजसो क्यान्सरका केसहरू क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्रै पत्ता लगाइन्छ, जहाँबाट यसको वृद्धि रोक्न र बिरामीको जीवन बचाउन गाह्रो हुन्छ ।
मिर्गौलाको क्यान्सर ठूलो जोखिम रहेको चिकित्सकहरू बताउँछन्, यसको लक्षण समयमै पहिचान भएमा यो रोगले गम्भीर रूप लिनबाट बच्न सकिन्छ । मिर्गौलाको क्यान्सरका धेरैजसो लक्षणहरू स्पष्ट रूपमा देखिन्छन् ।
मिर्गौला क्यान्सरबारे जान्नुहोस्
मिर्गौलाको क्यान्सर, मिर्गौलाको सेल कार्सिनोमा मिर्गौलाको क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो । यो क्यान्सर मिर्गौलाको सानो नलीको अस्तरबाट सुरु हुन्छ । साना बच्चाहरूलाई विल्म्स ट्युमर, एक प्रकारको मिर्गौलाको क्यान्सर हुने उच्च जोखिम हुन्छ ।
शरीरमा हुने केही समस्याका आधारमा हामी सबैले मिर्गौलाको क्यान्सरको समस्या सजिलै पत्ता लगाउन सक्ने चिकित्सकहरू बताउँछन् । यसको लागि, लक्षणहरू सही र समयमै पहिचान गर्न आवश्यक छ ।
मिर्गौलाको क्यान्सरमा के लक्षण देखिन्छन् ?
मिर्गौलाको क्यान्सरको प्रारम्भिक चरणमा सामान्यतया कुनै लक्षण हुँदैन, यो समयसँगै विकास हुन सक्छ । यदि तपाईँ यी दुई देखि तीन प्रकारका कुनै पनि समस्याको सामना गर्दै हुनुहुन्छ भने, यसलाई बेवास्ता नगर्नुहोस्, समयमै चिकित्सकसँग परामर्श लिनु धेरै महत्त्वपूर्ण छ ।
- गुलाबी वा रातो रंगको पिसाब देखिनु ।
- भोक नलाग्नु ।
- अस्पष्ट वजन घट्ने समस्या
- थकान र ज्वरो
- खुट्टा सुन्निने
- बारम्बार ज्वरो आउने समस्या
पिसाबको रंग परिवर्तनमा ध्यान दिनुहोस्
पिसाबको रङ्गमा परिवर्तन भएमा विशेष ध्यान दिनु पर्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । तपाईँको पिसाबमा रगत हुनु (हेमेटुरिया) मिर्गौलाको क्यान्सरको संकेत हुन सक्छ । यसबाहेक केही क्यान्सरका बिरामीमा पिसाबको रंग गाढा खैरो वा कोकाकोलाजस्तो पनि हुन सक्छ । पिसाब परिवर्तनको समस्यालाई गम्भीर ध्यान दिनु आवश्यक छ ।
तल्लो ढाड दुखाइ
यदि एक वा दुवै मिर्गौलामा ट्युमर छ, जसको आकार बढेको छ, यसले ढाड दुख्न सक्छ । यदि कम्मरको तल्लो भाग र करङको मुनि वा छेउमा दुखाइ महसुस भएमा यसलाई मिर्गौलाको क्यान्सरको लक्षण पनि मान्न सकिन्छ । तर, हरेक दुखाइ सिधै मिर्गौलाको क्यान्सरसँग सम्बन्धित छ भन्ने आवश्यक छैन, त्यसैले समस्याको सही निदानका लागि डाक्टरसँग परामर्श लिनुहोस् ।
सत्यपाटी संवाददाता । काठमाडौं