सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा डिएपी मल अभाव, प्रतिक्षामा किसान

बाँकेका किसानहरुले रोपाइँका लागि वर्षातको प्रतीक्षा गरिरहँदा डिएपी मलको अभाव देखिएको छ । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानहरुलाई रासायनिक मल आपूर्ति गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ प्रदेश कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरीका अनुसार जेठ तेस्रो सातादेखि डिएपी मल सकिएको छ । क्षेत्रीय प्रमुख चौधरीले भने, ‘डिएपी मल असारको १५–२० मा आउने जानकारी आएको छ, यतिबेला आउने किसानलाई फर्काउने गरेका छौं ।’ युरिया मल भने नियमित वितरण भइरहेको छ ।

हाल पनि कार्यालयमा १२ हजार बोरा युरिया मल मौज्दात रहेको चौधरीको भनाइ छ । साल्ट ट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगन्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्तीसोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेश पौडेलले भैरहवाबाट डिएपी र युरिया मल आउने क्रममा रहेकाले अबको केही दिनमा सहकारी मार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए । एक साताभित्र युरिया ४६८ टन र डिएपी ३६० टन आउने क्रममा रहेको पौडेलले जानकारी दिए ।

जस अनुसार ६० प्रतिशत युरिया र २५ प्रतिशत डिएपी मल नेपालगन्ज पुगेर गोदाममा राखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख पौडेलले भने, ‘तत्काल आउने जति सबै मल आएपछि एकसाथ एक साताभित्र जिल्लाभर वितरण गर्ने योजना बनाएका छौं, तत्काल किसानलाई माग अनुसार डिएपी अभाव हुने देखिन्छ ।’

डिएपी मल रोपाइँको समयमा आवश्यक पर्ने भएकाले किसानले हाल बढी माग गर्ने गरेका छन् । कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा १०७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दै आएको छ । पालिका अनुसार सहकारीको सङ्ख्या कम बढी भएकाले उनीहरुले पाउने मलको परिमाणमा फरक पर्ने गरेको छ । कृषि सामग्री कम्पनीले डिएपी मल पनि छिट्टै आउने जानकारी आएको दाबी गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार ०६:४६