सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

संस्मरण : बाबाको झोला

अनि झोलाले पनि आफ्नो फित्तालाई कहिल्यै कमजोर हुन दिएन । पिएचडी यात्रामा निरन्तर साथ दिइरह्यो । यो यात्रामा कति कठिन मोडहरू पार गर्नुपर्यो होला ?

मेरो बाबाको साथी, त्यो कालो झोला बोलेर दुई कदमसँगै हिँडेर एक कप चिया पिउने साथी त धेरै हुन्छन्, तर मेरा बाबाको साथी भलै बोल्न सक्दैन तर साथ हरेक पल रहेको हुन्छ । चियाको चुस्कीसँगै दुःख सुख बाँड्न सक्दैन, तर मेरो बाबाको हरेक काम, मेहेनत, अनि खुसीका कोसेलीलाई एउटा चेनले बाँधेर सुरक्षित राखेको छ, हो मेरो बाबाको सच्चा साथी नै त्यै कालो झोला हो ।

बिहान उठ्नेबित्तिकै बाबालाई भन्दा पनि पहिला म उहाँको साथी (झोला)लाई खोज्ने गर्छु । आमाले कहिलेकाहीँ झुक्याउनु हुन्थ्यो “तँ ढिला उठिस् बाबा त गैसक्नु भयो” आमाको त्यो बोलीभन्दा बढी विश्वास मलाई त्यो झोलाको लाग्न थाल्यो । बाबाले आफ्नो झोला कहिलै छोडेर जानै सक्नुहुन्न । उहाँको झोला टेबलमै रहेछ, म खुसीले फुरुङ्ग हुँदै बाबाको काखमा बस्छु सदाझैं उहाँको एउटै प्रश्न मेरो लागि, ‘छोरी फर्किदा के लिएर आइदिऊँ ?”

बेलुकी फर्केर घर जाँदा बाबाले झोला आमाको हातमा पार्नु अगि जिस्केर भन्छु, बाबाको कालो झोला, यसभित्र के होला ? नभन्दै झोलाभित्र केही न केही खाने कुरा हुन्छ । कि स्याउ, कि केरा अनार, कि दुध दही । साँच्चै कतिकुरा अटाउन सकेको है त्यो झोलामा ? कहिले काहीँ त डाह लागेर आउने गर्छ, जुन हात समातेर मैले हिँड्न सिकेँ, जुन काँधमा चढाएर बाबाले संसार चिनाउनु भयो आज त्यो प्यारो हात अनि काँधको भागेदार एउटा झोला बनेको छ ।

डाह भनौं या मेरो बचपना, एकदिन त हदै भएर मैले बाबालाई भने, ‘‘बाबा यो कालो नराम्रो झोला नबोक्नु न । हजुरलाई कत्ति पनि सुहाएको छैन” मेरो प्रश्नले बाबाको मनलाई छोएछ, मेरो हात समाएर काखमा राख्दै बाबाले भन्नु भयो, ‘‘छोरी यो केवल झोला होइन, मेरा हरेक काम तथा जिम्मेवारीलाई बोकेर हिँड्नमा मलाई सहयोग गर्ने सहयात्री हो । म मेहेनत गर्छु मेरो मेहनतलाई जोगाएर मंजिलसम्म लग्नमा मलाई यहि झोलाले त सघाउँछ ।’’ कामका कुरा मात्र नभई परिवारको निम्ति कोसेली अटाउने ठाउँसमेत छ यसमा ।

दिनभर मसँगै भौतारी रहन्छ, तर एकपल्ट पनि अब थाकें म भनेर कमजोर बन्दैन मेरो झोला । जति म यसको ख्याल गर्छु त्यति नै इमान्दार बनेर मेरो कामको सुरक्षा गरिदिन्छ मेरो झोलाले । राम्रो झिलिमिलिले कतिबेला साथ छोड्छ थाहा नै हुँदैन । मेरालागि धेरै प्यारो छ यो कालो झोला । बाबाले बोलेका ती हरेक शब्दले मलाई कहिँ न कहीँ घोत्लिन बाध्य बनाउँथे । उहाँले बताएको हरेक शब्दशब्दमा त्यो निर्जीवले स्वास फेरिरहेको थियो, उहाँको वर्णनमा झोला बाँचिरहेको थियो, झोलाले बाबासँग अनि बाबाले झोलासँग लगाएको प्रेम साँच्चिनै अवर्णनीय थियो ।

म एकपल निःशब्द भएँ, मेरो च्चुपी देखेर बाबा मुस्कुराउँदै भन्नुभयो, ‘‘छोरी यो दुनियाँ अत्यन्तै स्वार्थी छ, यहाँ मित्रता गर्नु अगि मानिस आफ्नो स्वार्थको तह नाप्ने गर्छन् । त्यसकारण मित्र त्यसलाई चुन्नु जो गुनासोभन्दा बढी गुण लगाउँछ ।” यति भन्दै बाबा आफ्नो झोला च्यापेर आफ्नो कामतर्फ लाग्नुभयो । साँझमा घर आउँदा मिठो खानेकुरा ल्याइदिने वाचासँग । उहाँ त जानु भयो तर मेरो मस्तिष्कमा चलिरहेको रेस अझै सकिएको थिएन । अन्जान हुँदा बेग्लै थियो । तर उहाँको बोलीबाट एक निष्प्राण वस्तुप्रतिको यति सुमधुर सम्बन्ध सुनेर अझ बढी गहिराइमा जाने मेरो उत्सुकताले सिमा नाघेको थियो ।

अब म हरेक पललाई केलाउन लागें । झटपट दिमागमा बाबाले पिएचडी गर्दाको समयले झक्झकायो । मेरो बाबाको एकमात्र अमूल्य सपना पिएचडी सकेर आफ्नो नामको आगाडि डा. लेख्ने। हरेकको आफ्नै सपना हुने गर्छ अनि त्यो सपनाको लागि चाहिन्छ एक छुट्टै संघर्ष । मेरो बाबाको पनि छुट्टै संघर्षको कहानी छ । सायद मेरा शब्द छोटा पर्ने छन् यदि म बताउन लागें भने । न भोक न निन्द्राको कुनै आभास थियो पढाइ मात्र नभई उहाँप्रति परिवारको जिम्मेवारी, पेशाप्रतिको बफादारिता, आफ्नो कामप्रतिको लगनशीलता अनि आफ्नो सपना पूरा गर्न एक छुट्टै जोश र इच्छाशक्ति ।

यी सब कुरालाई एक समान गन्तव्यमा पुर्याउन सायदै सम्भव होला । तर बाबाले कहिल्यै हार मान्नु भएन । कोठाभरि छरिएका ती सयौं थेसिसका पन्नाहरू म अझैं सम्झिन्छु, रातभर ती खाली पाना भर्नुहुन्थ्यो, अनि बिहान भएपछि ती पन्नाले त्यो झोला गरुङ्गो हुन्थ्यो । त्यही झोला बोकेर लाग्नुहुन्थ्यो पिएचडी गुरुजीको समिपमा । कहिले बानेश्वर, कहिले कलंकी, कहिले बागबजार त कहिले शङ्खमूल । आज लान्न कहिल्यै भन्नुभएन । अनि झोलाले पनि आफ्नो फित्तालाई कहिल्यै कमजोर हुन दिएन । पिएचडी यात्रामा निरन्तर साथ दिइरह्यो । यो यात्रामा कति कठिन मोडहरू पार गर्नुपर्यो होला ?

यात्रापछि जब बाबा बेलुकी कोठाभित्र पसेर झ्वाम्म भुइँमा झोला फालेर खाटमा पल्टेर सुइय्य सुस्केरा हाल्नु हुन्थ्यो, तब पिएचडी गर्नुको पीडा महशुस गर्थें । लाग्थ्यो दृढ इच्छाशक्ति भएपछि हरेक पिडाहरू सुस्केरामै बिलाउछन् होला । हुन पनि त्यहीँ दृढ इच्छाशक्तिका कारण आज मेरो बाबाको नाम डा.पूर्ण भण्डारी पङ्कज हुँदा र बाबाको काँधमा अझैं त्यै कालो झोला देख्दा गर्वले छाती फुल्छ, चाहे विहान कलेज स्कुल जाँदा होस् या बेलुकी फलफूल बोकेर घर फर्किंदा होस् । आज बाबा हजुरसँग नजिकै नभए पनि हजुरलाई सम्झिरहेकी छु, हजुरका उर्जावान उपदेशहरू सम्झिरहेकी छु र सम्झिरहने छु, निरन्तर साथ दिइरहने कालो झोलालाई । सलाम छ बाबा हजुरलाई अनि हजुरको त्यो कालो झोलाप्रतिको मित्रतालाई ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार ०६:०१