रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिजपछि पनि थप बिबादमा परेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।
हिन्दू सेनाले आदिपुरुष’को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ । हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको जानकारी दिए ।
उनका अनुसार ‘आदिपुरुष’विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो । जसअनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन् भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।
निवेदनमा ‘आदिपुरुष’लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ ।
रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाईएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संबाद पनि कतिपय ठाउँमा र्यापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’को भूमिकामा छन् ।
योसँगै सैफ अली खानले ‘रावण’को भूमिका निभाएका छन् । ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संबाद राखेपछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संवाद विप गरेपछि नेपालमा प्रदर्शन गरिएको थियो ।
सत्यपाटी संवाददाता । नयाँ दिल्ली