सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीबाट मनसुन अघि नबढ्दा मध्य र पश्चिम तराईको गर्मी लम्बिने

कोशीदेखि गण्डकीसम्म चार वटा प्रदेशमा गत बुधबार (जेठ ३१ गते) नै प्रवेश गरेको मनसुन (वर्षा गराउने मौसमी प्रणाली) त्यसभन्दा अघि (पश्चिम) बढ्न सकेको छैन । जसका कारण मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत् रहेको जल तथा मोसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अझै २–३ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी गतिविधि (बादल र वर्षा) सुरु हुने सम्भावना छैन । यसैकारण दुई हप्ताभन्दा बढी समयदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा जारी उखरमाउलो गर्मी अझै लम्बिने देखिएको उनले बताए ।

‘त्यसो त आज सुदूरपश्चिमको तराईमा भने भारतको गुजरातस्थित सौराष्ट्रमा रहेको चक्रवात (बिपरजोय) र पश्चिमी वायुको प्रभावले अलिअलि बदली (आकाशमा बादल)को सम्भावना देखिएको छ,’ मौसमविद् झाले भने, ‘तर यो तापक्रम नै घटाउने गरी हुने देखिँदैन ।’ त्यही चक्रवात र पश्चिमी वायुको दबाबले पूर्वबाट प्रवेश गर्ने मनसुन अघि बढ्न सकेको छैन । मौसमविदका अनुसार लुम्बिनीको तराईमा भने आज पनि बदलीको कुनै सम्भावना छैन ।

‘त्यो चक्रवात बिस्तारै कमजोर हुँदैछ, त्यो जमिनमा ठोक्किएपछि झन् कमजोर हुन्छ र नेपालमा त्यसको प्रभाव पनि कम हुन्छ,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार केही दिनदेखि देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम लगातार वृद्धि भइरहेको देखिन्छ । उक्त भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुने क्रम जारी छ ।

महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मीको सम्भावना अझै रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे पनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।’

ती क्षेत्रमा असार ३ गते (भोलि)सम्म तातो हावा चल्ने सम्भावना यथावत् रहेको महाशाखाले उल्लेख गरेको छ । मनसुनी प्रणालीको प्रभाव रहेका कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा भने बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्न सक्ने देखिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०९:४०