सूचनाको शक्ति - The Power Of Information

        

आधुनिक घट्ट बनेपछि हट्यो दुःख

वरिपरि घना जङ्गल, जङ्गलको बिचमा छङछङ बग्ने खोला । त्यही बाक्लो घनाजङ्गलका न्याउलीको न्याहुन्याहु र कोहिली चरीको कुहुकुहुले वन नै गुन्जायमान भएको थियो । त्यो घना जङ्गलको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट । दैलेखको ठाटीकाँध गाउँपालिका–३ मा अवस्थित पानीघट्ट विशाला, खुडखुडी र बहाकोटबासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ ।

वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण पनि यहाँका आउनेको भिड् लाग्छ । पहिले दुई देखि तीन घण्टाको उकालो ओरालो यात्रा गरेर जानुपर्ने बाध्यता थियो । तर, अहिले त्यो बाध्यता हटेको यहाँका स्थानीय बताउँछन् । पहिले घट्ट नहुँदा तीन घण्टा पैदल हिडेर घट्ट पिस्न गएको सम्झिँदा अहिले आश्चर्य लाग्ने गरेको ठाटीकाँध गाउँपालिका–३ खुड्खुडीका लालबहादुर आले मगर बताउछन् ।

‘पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे,’ उनले भने, ‘तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि पालो पाइदैन थियो । दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे । बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिका छन् ।’ उनीजस्तै ठाटीकाँध ३ विशाला माझखर्ककी मैनकला शाहीका दुःख पनि उस्तै थिए । बिहान भालेको डाकोसँगै उठ्थिन ।

कुम्लो कुटिरो सँग टर्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीन देखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन् । सित्तिमित्ति घट्ट पिस्ने पालो पाउदैन थिइन् । तीन चार घण्टाको बाटो हिडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो । घट्ट पुग्ने बित्तिकै गहुँका बोराले घट्ट भरिभराउ हुन्थे । अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छन् ।

लालबहादुर र मैनकला जस्तै यहाँका १०४ घर परिवारका समस्या उस्तै थिए । तर अहिले दिन दिन फेरिएका छन् । ठाटीकाँध गाउँपालिका–३ खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि यहाँका एकसय चार घरदुरी परिवारका दिन बद्लिएका छन् । पहिले तीन चार घण्टा हिड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै बिशाला माझखर्क, खुड्खुडी र बहाकोटका नागरिकका दुःख टरेको छ ।

ठाटीकाँध गाउँपालिका र युएनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि १०४ घर लाभान्वित भएका छन् । ठाटीकाँध गाउँपालिका र युएनडिपीको सहयोग गरी कुल ५ लाख ७५ हजार १२२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माझ खर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । जेठ ३१ बट सञ्चालनमा आएको हो । घट्ट पिस्न आउने प्रति बोरा पिसेबापत पचास र ३० केजी पिसेबापत ३ कुरुवा लगेर कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाई छ ।

स्रोत : आइएनएस–स्वतन्त्र समाचार
प्रकाशित मिति : २ असार २०८०, शनिबार ०९:२८