सूचनाको शक्ति - The Power Of Information

        

सावधानी र सतर्कता अपनाऔं

गर्मीमा हैजाको जोखिम, कसरी बच्ने ?

हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिए ज्यानसमेत लिन सक्छ ।

गर्मी तथा वर्षायाम सुरु भएसँगै विशेषगरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरूरी छ । हैजाका बिरामीहरूको समयमै उपचार गरिएको खण्डमा बिरामी सामान्यतया दीर्घकालीन परिणामबिना नै निको हुन्छन् ।

हैजाका बिरामी निको भइसकेपछि सामान्यतया हैजाको ब्याक्टेरियाको वाहक बन्दैनन्, तर फेरि सम्पर्कमा आएमा भने बिरामी हुन्छन् । हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिए ज्यानसमेत लिन सक्छ ।

गम्भीर हैजा भएका व्यक्तिहरूमा गम्भीर निर्जलीकरण विकास हुन सक्छ, जसलाई यदि समयमै उपचार नगरिएमा, केही घण्टाभित्र बिरामीको मृत्यु हुन सक्छ । करिब १० मध्ये १ हैजाका बिरामीमा गम्भीर लक्षण विकास हुन्छ ।

के हो हैजा ?

  • हैजा गम्भीर खालको झाडापखाला हो । समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ ।
  • भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ ।
  • अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ ।
  • हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ ।
  • हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ ।
  • गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ ।
  • अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन् ।

 

घरैमा उपचार गर्ने तरिका

  • हैजा नियन्त्रण गर्न र मृत्यु घटाउनको लागि बहुआयामिक दृष्टिकोण महत्वपूर्ण छ । यसका लागि निगरानी, स्वच्छ पानी, सरसफाइ र स्वच्छता, सामाजिक परिचालन र उपचार गरिन्छ ।
  • झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने ।
  • प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने ।
  • नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने ।
  • स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंक चक्कीको मात्रा नविराइकन खुवाउने ।
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०७:०४