सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

मनसुन सुरु भए पनि तराईमा अझै तातो लहर यथावत्

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मीको सम्भावना अझै रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक तयारी गर्न तथा कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे पनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ती भू–भागहरूमा आगामी असार २ गते देखि २०८० असार ३ गतेसम्म तातो लहरको सम्भावना यथावत् रहने देखिन्छ । अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मनसुनी प्रणालीको प्रभाव रहेका कोशी, मधेस प्रदेशको पूर्वी भू–भाग, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा भने बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम घट्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०६:३६