सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ट्राफिक प्रहरीले भित्र्यायो ‘राडार गन’

सवारी चालक होसियार ! बाँकेमा ‘अन द स्पट’ ट्राफिक कारबाही

‘राडार गन’सहित बाँकेका सडकमा ट्राफिक प्रहरी, तीब्र गतिमा सवारी हाँक्नेलाई ‘अन द स्पट’ कारबाही ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गतिर होस् या नेपालगन्ज–सुर्खेत रत्न राजमार्गतिर होस् अथवा अन्य कुनै पनि सहायक राजमार्गतिर नै किन नहोस् । यदी तपाई तीव्र गतिमा सवारी साधन हाँक्दै हुनुहुन्छ भने अब होसियार बन्नुपर्नेछ । किनकी तपाईको सवारी तीब्र गतिमा छ भने तपाई कारबाहीमा पर्ने निश्चित छ ।

चालकहरूले अनियन्त्रित गतिमा सवारी दौडाउने दिन अब बिस्तारै सकिनेछन् । तपाईले चाहेर पनि गाडी तीव्र गतिमा दौडाउन पाइने छैन । किनकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मुख्य राजमार्गसँगै सहायक राजमार्गमा दौडिरहेका सवारीको गति कुनै पनि जान्न सक्ने र ट्राफिक प्रहरीले थाहा पाएलगत्तै तपाई ‘अन द स्पट’ कारबाहीमा पर्नुहुनेछ ।

तपाईले ट्राफिक प्रहरीलाई झुक्याउने सम्भावना पनि रहने छैन । तपाईलाई ट्राफिक प्रहरीले स–प्रमाण कारबाही गर्नेछ । तीब्र गतिका कारण सडक दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बाँकेमा ‘राडार गन’ (स्पीड जाँच गर्ने लेजर गन मेसिन) भित्र्याएको छ । ‘राडार गन’ भित्र्याएसँगै ट्राफिक प्रहरी राजमार्गमा खटिन थालेको छ ।

अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन प्रयोग गर्दै कारवाही थालिएको हो । सडकमा हुँइकिरहेका सवारीको गति टाढैबाट थाहा पाउने भएपछि ट्राफिक प्रहरीले ती सवारी चालकलाई ‘अन द स्पट’ कारबाही गरिरहेको छ । बाँकेमा भएका दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेका छन् ।

दिनहुँजसो सडक दुर्घटना भइरहने र चालकहरूले तीव्र गतिमा सवारी हाँक्ने हुँदा ट्राफिक प्रहरीले राजमार्गमा ‘राडार गन’सहित छड्के जाँच सुरु गरेको हो । ‘राडार गन’ले टाढै रहेको सवारीको गति मापन गर्ने भएकाले ट्राफिक प्रहरीलाई देखेपछि मात्रै गति कम गर्ने प्रवृत्ति अन्त्य हुने र यसले यात्रा पनि सुरक्षित हुने ट्राफिक प्रहरीको विश्वास छ ।

ती दुर्घटनामध्ये अधिकांश पूर्व–पश्चिम महेन्द्र राजमार्ग र नेपालगन्ज–सुर्खेत रत्न राजमार्गमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले बताए । तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै प्रहरीले जिल्लामा पहिलो पटक गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको उनले बताए ।

राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा १०० किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक तिलक सुनारले सुनाए । ‘हामीसँग उपकरण र प्रविधि भएपछि अब कसैले झुक्याउन सक्दैन,’ चालकले चाहेको गतिमा सवारी कुदाउन नपाइने प्रष्ट पार्दै उनले भने, ‘घनाबस्ती भएको क्षेत्रमा ४० भन्दा बढी स्पीड हुनुहुँदैन । ६० भन्दा बढी स्पीड गर्ने सवारीलाई ‘अन द स्पट’ कारबाही हुनेछ ।’

‘राडार गनमा रहेको सेन्सरमा परेको सवारीको गति सवारीमा जति छ गनमा पनि त्यति नै देखिन्छ । चालकले हामीलाई देखेको हुँदैन, तर हामीले सवारीको गति थाहा पाइसकेका हुन्छौँ,’ उनले भने । जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढ्दै गइरहेकोमा त्यस प्रकारका दुर्घटना न्यूनीकरण गर्न अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । राडार गनबाट टाढाको दुरीमा गुडेको गाडिको गति क्यामेराबाट थाहा पाउन सकिन्छ ।

दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले महेन्द्र राजमार्ग र रत्न राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना रहेको जनाउँदै प्रहरी निरीक्षक सुनारले भने, ‘हामीले प्रयोगमा ल्याएको राडार गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३०० मिटरमा आएपछि गति मापन गर्छ ।’

‘यो अत्यन्तै हाई क्वालिटीको क्यामरा हो, सवारी दुर्घटना न्यूनीकरण अन्तर्गत गति नियन्त्रण गर्न यसको महत्त्वपूर्ण भूमिका रहन्छ,’ प्रहरी निरीक्षक सुनारले भने । राडार गनले राजमार्गमा गुडेका सवारी साधन कुन गतिमा छन् भन्ने गाडीको नम्बरसहित प्रस्ट देखाउँछ । सवारी साधनको गति मापन रेकर्ड भने ट्राफिक प्रहरी कार्यालयमा रहने गर्दछ । सोही रेकर्डका आधारमा तीव्र गतिमा गुडेका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना गर्ने गर्दछ ।

सवारी साधनको अनुगमन र कारबाही गर्न राडार गन अत्यन्तै प्रभावकारी यन्त्र भएको बरिष्ठ प्रहरी सहायक निरीक्षक ओम पौडेल बताउँछन् । ‘कतिपयले कहाँ स्पिडमा चलाएको छु भनेर जित्न खोज्नुहुन्छ, पछि हामीले रेकर्ड देखाएपछि विश्वस्त भएर जानुहुन्छ,’ पौडेलले भने, ‘दुर्घटना गराएर भाग्ने सवारी साधनको हकमा पनि राडार गर्नको सहयोगमा नियन्त्रणमा लिन अत्यन्तै सजिलो हुन्छ, यसबाट राति पनि स्पष्ट रूपमा नम्बर प्लेट देखाउँछ ।’

उनका अनुसार ३०० मिटरमा आएपछि गाडी तीब्र गति मापन हुन्छ भने १०० मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको पनि सुनारले बताए । ‘राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छ,’ प्रमुख सुनारले भने ।

उनले राडार गन ल्याएको डेढ साता भएको छ । आगामी लिनमा यसको दायरालाई अझै बढाउँदै लैजाने तयारी रहेको पनि बताए । ‘राडार गन’ले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा निकै सहजता ल्याउने बरिष्ठ प्रहरी सहायक निरीक्षक ओम पौडेलको विश्वास छ । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्वीर पनि खिच्ने भएकोले तत्काल स–प्रमाणसहित कारबाही गर्न पनि सहज भएको उनले बताए ।

बरिष्ठ प्रहरी सहायक निरीक्षक पौडेलका अनुसार राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा १०० किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कार छन् भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेका छन् । जेठ २२ गतेदेखि गति मापन सुरु भएकोमा १० दिनमा ७७ वटा सवारीसाधन कारवाहीमा परेका छन् । उक्त कारबाहीमा ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

सवारी दुर्घटनाहरूमा धेरै तीब्र गति र चालकको गल्तीका कारण हुने गरेको देखिन्छ । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही लगायतका अभियान गर्दै आएको छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १६:३५