सूचनाको शक्ति - The Power Of Information

        

पुदिना स्वास्थ्यका लागि अमृत, यस्ता छन् २५ फाइदा

करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्थास्थका लागि निकै उपयोगी छ । औषधीय गुणले भरीएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ ।

पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ । आजकाल चुईगम, दन्त मन्जन तथा माउथ फ्रेसमा समेत पुदिनालाई प्रयोग गरिन्छ । हिमाली क्षेत्रमा बाहेक तराई र पहाडका क्षेत्रमा सजिलै पाइने पुदिनाको स्वाद र सुगन्धले भोजनको रुचि बढाउँछ ।

गाउँघर तिर सहजै पाइने वनस्पति पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ । पछिल्लो समय यसका फाइदा धेरै मान्छेलाई थाह भएको कारणले सहरतिर पनि आफ्नो कौसीमा रोपेको पाइन्छ । हरेकको घर अफिसतिर गमलामा पुदिना रोपेको देखिन्छ । पुदिनालाई कतै बाबरीको नामले पनि चिनिन्छ ।

यसलाई मुख र दाँत स्वस्थ राख्ने र अनुहारमा चमक ल्याउने वस्तुका रूपमा पनि लिइन्छ । पुदिनाको सेवनले भोक जगाउने र पाचन प्रक्रिया सहज गराउने चिकित्सक बताउँछन् । अझ पुदिनालाई स्वास्थ्यका लागि अमृत समान मानिन्छ । बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेस्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटमा पुदिनाको स्वाद मिलाइएको हुन्छ । अर्थात् यी सबै सामग्रीमा एक प्रमुख वस्तुको रूपमा पुदिनालाई मिसाइएको हुन्छ ।

पुदिनाका २५ फाइदा

१. नरिवलको तेलसँग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ ।

२. दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।

३. हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ ।

४. पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ ।

५. गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ ।

६. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।

७. पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

८. पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ ।

९. पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ ।

१०. शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।

११. साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २–३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ ।

१२. पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ ।

१३. मुर्छित व्यक्तिलाई पुदीना पिसेर सुघाएमा मुर्छित अवस्थाबाट ब्युत्याउछ ।

१४. प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्रसव पीडा कम गर्छ ।

१५. पुदिना र चिनीलाई तातोपानीमा उमालेर समय समयमा पिएमा निर्बलता कम हुन्छ ।

१६. पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ ।

१७. दुई चम्चा पुदिनाको रस वीरेनुन मिसाएर मनतातो पानीसँग खाएमा पेट फुलेको निको हुन्छ ।

१८. तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा ग्याष्ट्रिक निको हुन्छ ।

१९. नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ ।

२०. पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन ।

२१. प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ ।

२२. सलादमा दिनहुँ पुदिना चपाएर खाएमा दाँत सड्ने तथा गिँजा सुन्निने निको हुन्छ ।

२३. पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ ।

२४. पुदिनाको रस मनतातो पानिसंग पिएमा बाडुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ ।

२५. पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाशयलाई सक्रिय पार्ने तथा बिग्रेको मासिक धर्म समेत यसले नियमित बनाउने गर्छ ।

तर बहुउपयोगी गुण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ साथै मृगौलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ०७:२७