सूचनाको शक्ति - The Power Of Information

        

नेपाली संस्कृतिमाथि भारतीय प्रहार

हिन्दी फ्लिम ‘आदिपुरुष’को काठमाडौंमा चल्न नदिने बालनको चेतावनी

गलत संवाद फिल्मबाट हटाइएको भन्दै भारतीय सेन्सर बोर्डद्वारा प्रदर्शन अनुमति ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र कुनै पनि हिन्दी फ्लिम चल्न नदिने चेतावनी दिएका छन् । मेयर शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’ मेयर शाहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन तीन दिनको समय दिएका छन् ।

यता, गलत संवाद फिल्मबाट हटाइएको भन्दै भारतीय सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राति सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमतिपत्र वितरकले पाएका छन् । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीबार बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो ।

भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि बोर्डले अनुमति दिएको जनाइएको छ । सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ आज शुक्रबार नेपालमा रिलिज हुने जनाइएको छ । तर काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त गलत डाइलग तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने बताएका छन् ।

शाहले भारतमा समेत उक्त गलत डाइलग तीन दिनभित्र हटाउन चेतावनी दिएपछि नेपालमा फिल्म चल्ने–नचल्ने अन्योल भएको छ । यसबाट सेन्सर बोर्डले अनुमति दिए पनि फिल्म चल्ने–नचल्ने अन्योल भएको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ। यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ०६:२२