सूचनाको शक्ति - The Power Of Information

        

भाडा नबढाउन नेपालगञ्ज र कोहलपुर उद्योग बाणिज्य संघको आग्रह

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दैगएको जनाउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न आग्रह गरेका छन् ।

दुवै सङ्घले छुट्टाछुट्टै अपिल प्रकाशित गरेर आर्थिक मन्दीका कारण धराशायी भएका व्यवसायीलाई परिस्थिति असहज रहेको बेलासम्म पसल व्यवसायका लागि दिइएको पसल र घरको भाडा वृद्धि नगर्न अपिल गरेका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही समय यता व्यवसायीहरू आर्थिक मन्दीको चपेटामा परेकाले उनीहरू पलायन हुने अवस्था आउन लागेको जनाउँदै पसलका लागि दिइएका घर र कोठाको भाडा वृद्धि नगरेर सहयोग गरिदिन आग्रह गरिएको बताए ।

उनले भाडा तिर्न नसकेर नै धेरै पसल र गोदाम खाली गरिसकिएको गुनासो आएको जनाउँदै यस्तो समयमा सहयोगको अपेक्षा गरिएको बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले कोरोना भाइरसको सङ्क्रमण र आर्थिक मन्दीले विश्वको अर्थ बजार शिथिल बनेकाले व्यवसाय नै धरापमा परेको बेला पसल भाडा बढाइएमा झन् सङ्कट आउने हुँदा केही समय भाडा नबढाउन आग्रह गरिएको बताए ।

सोही प्रकारले कोहलपुर उद्योग वाणिज्य सङ्घले पनि आर्थिक मन्दीका कारण व्यापार व्यवसाय प्रतिकूल अवस्थाबाट गुज्री रहेका बेला पसल भाडा नबढाउन अपिल गरेको छ ।

कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले पनि आर्थिक मन्दी विद्यमान रहेका कारण पसल भाडा नबढाएर व्यवसायीलाई सहज वातावरण सिर्जना गरिदिन अपिल गरिएको बताए ।

उनले भने, ‘आर्थिक मन्दी विद्यमान छ । व्यवसायीले बैङ्कको किस्ता तथा भाडासमेत निर्धारित समयमा तिर्न नसकेको अवस्था छ । यो विषम परिस्थितिका कारण व्यावसायिक सटर खाली हुँदै जान थालेका छन् । केही दिन भाडा नबढाउन अपिल गरिएको हो ।’

अध्यक्ष पौडेलले सम्पूर्ण घरधनीको नाममा अपिलपत्र जारी गरेर मौजुदा कायम रहेको भाडा दरमा पनि आपसी सहमति र सद्भावका साथ केही छुट गरी व्यवसायीलाई राहत प्रदान गर्न आग्रह गरिएको बताए ।

कोहलपुर उद्योग वाणिज्य सङ्घका अनुसार घरधनीका आआफ्नै अप्ठ्यारा र सङ्कट रहे पनि यो अप्ठ्यारो परिस्थितिको समयमा पसल र गोदाम भाडा नबढाई सहयोग गर्न अनुरोध गरिएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:५३