सूचनाको शक्ति - The Power Of Information

        

चार पार्टीको ‘समाजवादी मोर्चा’ बन्दै, छुट्यो बाबुरामको नेसपा

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी (जसपा)को ‘समाजवादी मोर्चा’ घोषणा हुने भएको छ । तत्काल पार्टी एकताको सम्भावना नभएपछि मोर्चा घोषणा गर्ने अवस्थामा पुगेको हो । एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले शुक्रबार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतको ‘समाजवादी मोर्चा’ गठन हुने बताएका छन् ।

उक्त मोर्चा बृहत वाम एकतासम्म पुग्ने उनको दाबी छ । बिहीबार प्रशारित देशान्तर संवादमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टी विच मोर्चा बन्दैछ ।’ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपासँग पार्टी एकताको प्रयास गरेका थिए ।

तर, तत्काल पार्टी एकता सम्भव नभएपछि ‘समाजवादी मोर्चा’ गठन गरेर अगाडि बढ्ने र त्यसलाई निरन्तरता दिँदै वाम एकतासम्म लैजाने लक्ष्य रहेको नेताहरुले बताएका छन् । ‘समाजवादी मोर्चा’मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सामेल हुने भएको छ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार लामो प्रयासपछि विप्लव मोर्चामा सहभागी हुन सहमत भएको हो ।

समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले शुक्रबार बिहान पदाधिकारी र सचिवालयको बैठक बोलाएको छ । पार्टीका उपमहासचिव गंगालाल तुलाधरले ‘समाजवादी मोर्चा’ घोषणा गर्ने तयारी भइरहेको र त्यसबारे छलफल गर्न शुक्रबार पदाधिकारी बैठक डाकिएको बताए । यसअघि नै माओवादी अध्यक्ष प्रचण्डले ‘समाजवादी मोर्चा’को दस्तावेज तयार भइसकेको बताइसकेका छन् ।

केही दिनअघि दाङको लमहीमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘हिजोको एकता कायम राख्न सम्भव भएन । समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच समाजवादी मोर्चा घोषणा हुन्छ ।’ गठनको तयारी अवस्थामा पुगको ‘समाजवादी मोर्चा’ भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेसम्मको लक्ष्य रहेको बताइएको छ । तर, मोर्चाको नेतृत्व कसले र कसरी गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको नेताहरुको भनाइ छ ।

छुट्यो बाबुराम नेतृत्वको नेसपा

‘समाजवादी मोर्चा’मा डा बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि सामेल गराउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । तर, नेसपा तत्काल सहभागी नहुने भएको छ । एकीकृत समाजवादीका नेता मेटमणिले समाजवादी मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि सामेल गराउने प्रयास भइरहेको बताए पनि त्यसबारे छलफलमै नबोलाएको नेसपाले जनाएको छ ।

नेसपाका एक नेताले भने, ‘समाजवादी मोर्चा बनाउने कुरा सुरुमा हामीले ने उठाएको हो । तर, अहिले मोर्चा बनाउनेबारे हामीलाई छलफलमै बोलाइएन ।’ नेसपाका नेता विश्वदीप पाण्डेले पनि बिहीबार दिउँसोसम्म समाजवादी मोर्चा बनाउनेबारे पार्टीमा छलफल नै नभएको बताएका छन् । अध्यक्ष गोरखामा भएकाले त्यसबारे छलफल नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १७:५६