सूचनाको शक्ति - The Power Of Information

        

किन लत्याइयो बढुवा प्रावधान ?

इन्स्पेक्टर बढुवामा आइजीपी र एआइजीको ‘गोरख धन्दा’

राम्रो काम गरेर लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका काबिल इन्स्पेक्टर र अन्य प्रहरीमा यस पटकको बढुवाले नकारात्मक सन्देश प्रवाह भएको छ ।

राम्रो छवि भएको भनिएका प्रहरी प्रमुख आइजीपी वसन्त कुँवर यसपटकको प्रहरी बढुवामा भने नराम्ररी गन्हाएका छन् । इन्सपेक्टरबाट डीएसपी बढुवामा कुँवरले कोही नातागोता बाँकी राखेनन् । त्यति मात्र होइन, अति कमजोर कार्य सम्पादन गरेका इन्सपेक्टरहरूलाई पनि दुनियाँ आश्चर्यमा पर्ने गरी राम्रो वरीयतामा बढुवा गरेका छन् ।

राम्रा प्रहरी अधिकृतलाई बढुवा नगरेको तर कारबाहीमा परेका र राम्रो कार्यक्षमता नभएका इन्सपेक्टरलाई बढुवा गरेर कुँवरले बदनामी कमाएका छन् । बढुवा भएका र उनीहरूले पाएको वरीयतालाई हेर्दा नै यस पटकको बढुवामा ठूलो आर्थिक लेनदेन भएको पुष्टि हुन्छ । नक्कली शरणार्थी प्रकरणमा समेत मुछिएका कुँवरले पछिल्लो समय प्रहरी बढुवामा अति अन्यायपूर्ण निर्णय गरेको प्रहरी संगठन भित्रैबाट आरोप लाग्ने गरेको छ ।

राम्रो काम गरेर लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका काबिल इन्स्पेक्टर र अन्य प्रहरीमा यस पटकको बढुवाले नकारात्मक सन्देश प्रवाह भएको छ । प्रहरी प्रमुख भएपछि प्रहरीमा शुद्धिकरण र सुदृढिकरणको नारा लगाउँदै आएका आइजी कुँवरले इन्स्पेक्टर बढुवाका क्रममा ऐन नियमभित्र भएको बढुवा प्रावधान नै लत्याएका छन् । यस पटकको इन्स्पेक्टर बढुवामा आइजी कुँवरले मात्र ‘गोरख धन्दा’ चलाएनन् ।

यो गोरख धन्दामा एआइजी सन्दीप भण्डारीले आइजी कुँवरलाई नै पछि पारे । इन्स्पेक्टर बढुवा समितिमा प्रहरी प्रमुख कुँवर संयोजक र एआइजी भण्डारी सदस्य सचिव थिए । उनीहरूले गरेको बढुवा सिफारिस हेर्दा आर्थिक लेनदेनमा बढुवाको लिस्ट तयार भएको स्पष्ट हुन्छ । चौतर्फी आलोचनाको विषय बनेको यस पटकको इन्स्पेक्टर बढुवाबारे आइजी कुँवर र एआइजी भण्डारीसँग कुनै जवाफ छैन ।

लामो समयसम्म फिल्डमा काम गरेका, दुर्गम क्षेत्रमा खटिएका, लामो समयसम्म कमान्ड गर्ने अवसर नपाएका इमानदार इन्सपेक्टरहरू यस पटकको बढुवामा छुटेका छन् । प्रहरी प्रमुख कुँवर र एआइजी भण्डारीलाई त्यसै आरोप लागेको भने होइन । यसपटकको बढुवा कति अन्यायपूर्ण र शंकास्पद छ ? भन्ने कुरा बढुवामा परेका र उनीहरूले अनपेक्षित रुपमा पाएको वरीयता नै काफी रहेको देखिन्छ ।

इन्स्पेक्टर बढुवामा आइजी कुँवरको खेल

आइजीपी कुँवरले २ नम्बरमा रहेका इन्स्पेक्टर रञ्जन अवालाई १ नम्बरमा बढुवा गरेका छन् भने खराब आचरण रहेतापनि जिल्लावासी अर्घाखाँचीका वरीयता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा बढुवा गरेका छन् । आइजीपी कुँवरले वरियता नम्बर २६ मा रहेका आफ्ना अङ्गरक्षक यामकुमार श्रेष्ठलाई सिधै ३ नम्बर वरीयतामा बढुवा गरेका छन् ।

त्यसैगरी १११ वरीयतामा रहेका जिल्लावासी इन्स्पेक्टर शंकर पोखरेललाई पनि एकै पटक ४५ नम्बरमा बढुवा गरेका छन् । इन्सपेक्टरको वरीयता नम्बर १२८ मा रहेका लक्ष्मी खनाललाई एकै पटक ४६ नम्बर वरीयतामा बढुवा गरेका आइजीपी कुँवरले निजी निवासमा कार्यरत वरीयता नम्बर १५ का इन्स्पेक्टर सुधीर राईलाई ८ नम्बर वरीयतामा बढुवा गरेका छन् ।

त्यसैगरी, आफ्नै सचिवालय मातहतको शाखामा काम गर्ने ५६ नम्बर वरीयताका इन्स्पेक्टर रामकुमार राईलाई ४४ नम्बर वरीयतामा बढुवा गराएका आइजीपी कुँवरले १०३ नम्बर वरीयताका इन्स्पेक्टर मिङ्मा शेर्पालाई २५ नम्बर वरीयतामा बढुवा गरेका छन् ।

त्यसैगरी, आइजीपी कुँवरकै जोडबलमा ९३ नम्बर वरीयतामा रहेका केशरकुमार न्यौपानेले विशेष प्राथमिकताका साथ ३८ नम्बर वरीयतामा बढुवा पाएका छन् । त्यस्तै, आइजी कुँवर र एआइजी सन्दिप भण्डारीले हाल मिसनमा रहेका ६९ नम्बर वरीयताका इन्स्पेक्टर एलिजा गिरी ४ नम्बर मेरिटमा बढुवा भएकी छन् ।

फिल्डमा अनुभव नै नभए पनि ४ नम्बर मेरिट कायम गर्दै फ्रेसतर्फ १ नम्बर मेरिटमा आएका एलिजा पहिलेदेखि नै प्रहरी हेडक्वार्टरमा प्रभाव राख्छन् । कार्यक्षमता कमजोर भए पनि ३९ देखि एकै पटक ४ नम्बरमा गिरीको नाम पर्नुलाई प्रहरी सङ्गठनमा सन्देहात्मक रुपमा हेरिएको छ ।

शक्ति केन्द्रको आडमा सधैं राम्रो पोस्टिङ पाए पनि राम्रो काम गर्न नसकेका तर आइजीको जिल्लावासी भएकै आधारमा वरीयता नम्बर १११ का इन्स्पेक्टर शंकर पोखरेल र वरीयता नम्बर १२८ का इन्स्पेक्टर लक्ष्मी पाण्डेको बढुवाले प्रहरीमा तरंग नै ल्याएको छ ।

आइजी कुँवरले फिल्डमा राम्रो काम गरेका र वरियतामा अगाडि रहेका दुई महिला इन्सपेक्टरलाई बढुवा नगरी शक्ति केन्द्र रिझाउने क्षमता भएका पाँच जना महिला इन्सपेक्टरको मात्र बढुवा गर्दा आलोचना भएको छ ।

गोरख धन्दामा आइजीलाई पछि पार्ने एआइजी

आइजी कुँवरले जसरी आफ्नाहरूलाई मात्र बढुवा गरे त्यसरी नै एआईजी सन्दीप भण्डारीले पनि आफ्ना र पैसा बुझाउन सक्ने इन्सपेक्टरलाई भकाभक बढुवा गरेका छन् । मानव संशाधन विभाग सम्हालेका एआइजी भण्डारीले यसपटक इन्स्पेक्टर बढुवामा करोडौं कमाएका छन् । भण्डारीले पैसाको आधारमा बढुवामा हलचल नै मच्याएको विषय सार्वजनिक नै भइसकेको छ ।

भण्डारीको लिस्टमा बढुवा भएकाहरूले पाएको नयाँ वरीयताले पनि यो कुरा पुष्टि गर्छ । भण्डारीले आफ्नो शाखामा कार्यरत वरीयता नम्बर ५ का इन्स्पेक्टर कमलराज पण्डितलाई ५ नम्बर वरीयतामै बढुवा गराएका भण्डारीले कमजोर कार्यक्षमताका वरीयता नम्बर ८ का इन्स्पेक्टर अनमोल खड्कालाई ९ नम्बर वरीयता कायम गरिदिएका छन् ।

एआइजी कुँवरले ५२ नम्बर वरीयताका इन्स्पेक्टर निशान थापालाई एकैपटक ११ नम्बर वरीयतामा बढुवा गरेका छन् । त्यति मात्र होइन सधैँ शक्तिकेन्द्रको आडमा प्रहरी नेतृत्वमा प्रभाव जमाउँदै आएका विवादीत छवि बनाएका इन्स्पेक्टर चेतना पोखरेललाई २५ नम्बर वरीयताबाट एकैपटक ६ नम्बर वरीयतामा बढुवा गरेका छन् ।

एआइजी भण्डारीले जन्मथलो र अगाडि जिम्मेवारी सम्हालेको क्षेत्रका धेरै इन्सपेक्टरसँग पैसा लिएर बढुवा गरेको आरोप लागेको छ । भण्डारीको जन्मघर सङ्खुवासभा हो । उनको हाल सुनसरी र काठमाडौंमा घर छ । यस क्षेत्रका धेरै इन्सपेक्टरको बढुवा भएको छ ।

भण्डारीले प्रहरी प्रधान कार्यालयभित्र महत्वपूर्ण शाखामा कार्यरत भोजपुर घर भएका वरीयता नम्बर ५० का इन्स्पेक्टर निरञ्जन भट्टराईलाई ३५ नम्बर वरीयतामा बढुवा गरेका छन् । त्यस्तै ओखलढुङ्गा घर भएका वरीयता नम्बर ६३ का इन्स्पेक्टर ईश्वरीप्रसाद भण्डारीलाई २१ नम्बर वरीयतामा बढुवा गरेका छन् भने सर्लाही घर भएका वरीयता नम्बर ७८ का दीपककुमार साहलाई ३७ नम्बर वरीयतामा बढुवा गरेका छन् ।

गोपनीयता कायम गर्न नजिकका इन्सपेक्टरलाई राम्रो वरीयता

यस पटकको बढुवाको रोचक पक्ष के हो भने मानव संसाधन विभाग सम्हालेका एआइजी भण्डारीले आफ्नो कर्तुत लुकाउन आफ्नो गतिविधि थाहा पाएकालाई विना कुनै आधार राम्रो वरीयतामा बढुवा गरेका छन् । इन्स्पेक्टर निशान थापा एआइजी भण्डारीका जिल्लावासी हुन् ।

साथै, एआइजी भण्डारीकै शाखामा कार्यरत रहेको हुँदा उनले ५२ वरीयताबाट एकै पटक ११ नम्बर वरीयतामा बढुवा पाएका छन् । एआइजी भण्डारीले आफ्नो साढु दाई नाता पर्ने वरीयता नम्बर १७ का इन्स्पेक्टर प्रकाश बुढाथोकीलाई १४ नम्बर वरीयतामा बढुवा गरेका छन् । भण्डारीको गृहजिल्ला सङ्खुवासभाका वरीयता नम्बर ८९ का इन्स्पेक्टर कमल बजगाइँ २९ नम्बर वरीयतामा बढुवा पाएका छन् ।

एआइजी भण्डारीले ससुराली नाताका समेतलाई राम्रो वरीयतामा बढुवा गरेका छन् । ओखलढुङ्गा घर भएका वरीयता नम्बर ६० का इन्स्पेक्टर नवराज ढुङ्गेल १६ नम्बर वरीयतामा बढुवा भएका छन् । त्यसैगरी, १२४ नम्बर वरीयताका इन्स्पेक्टर बिनोदकुमार सुनुवारले अनायसै २७ वरीयतामा बढुवा पाउँदा दुनियाँ चकित भएका छन् ।

त्यस्तै कार्यक्षमता कमजोर भए पनि ४३ नम्बर वरीयताका इन्स्पेक्टर खगेन्द्र धमलाले ४१ वरीयतामा बढुवा पाएका छन् । एआइजी भण्डारीले तालिम केन्द्र सिन्धुलीमा रहँदा सहयोग गर्ने खास व्यक्तिको सिफारिसमा समेत बढुवा गरे । सिन्धुली घर भएका कमजोर कार्यक्षमताका वरीयता नम्बर २० का इन्स्पेक्टर रमेशकुमार श्रेष्ठलाई एआइजी भण्डारीले ७ नम्बर वरीयतामा बढुवा गरेका छन् ।

त्यसैगरी, एआइजी भण्डारीले कमजोर कार्यक्षमताका वरीयता नम्बर ९९ का इन्स्पेक्टर रिपेन्द्र कुमारलाई ४३ मा बढुवा गरेका छन् । कारबाहीमा परेका वरीयता नम्बर ११ का इन्स्पेक्टर बेदबहादुर पौडेललाई १२ नम्बर वरीयतामा बढुवा गरेका भण्डारीले वरीयता नम्बर १०४ का इन्स्पेक्टर प्रकाश जबेगुलाई अनायसै ४२ नम्बरमा बढुवा गरेका छन् ।

यी दुई बढुवा र कायम गरिएको नयाँ वरीयता हेर्दा पनि आर्थिक चलखेल स्पष्ट हुन्छ । त्यस्तैगरी, ११८ नम्बर वरीयताका सुभद्रा लामा वाइवालाई एआइजी भण्डारीले ३६ वरीयतामा बढुवा गराएका छन् । लामो समय पूर्वमा काम गरे एआइजी भण्डारीले सङ्खुवासभा, सुनसरी, मोरङ र पाँचथर लगायत जिल्लाका १८ जना इन्सपेक्टरलाई गरेका छन् ।

इन्स्पेक्टर बढुवामा गृहमन्त्रीका सचिवालयका हर्ताकर्ताको चलखेल

सुशासनको कुरा गरेर नथाक्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका हर्ताकर्ताले यस पटकको इन्सपेक्टरबाट डीएसपी बढुवामा राम्रै चलखेल गरेका छन् । सचिवालयका हर्ताकर्ता स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, विजय गौतम, शुसन कर्माचार्य लगायतले इन्स्पेक्टर बढुवामा राम्रै चलखेल गरेका छन् । गृहमन्त्री श्रेष्ठको जिल्लाका सबै इन्स्पेक्टर बढुवामा परेका छन् ।

गोरखा घर भएका वरीयता नम्बर ५३ का इन्स्पेक्टर सुवास भट्टलाई १५ नम्बर वरीयतामा बढुवा भएका छन् भने वरीयता नम्बर ४० का इन्स्पेक्टर दयाकृष्ण भट्ट २८ नम्बर वरीयतामा बढुवा भएका छन् । त्यसैगरी, वरीयता नम्बर ४१ का इन्स्पेक्टर जीवन निरौला ३४ नम्बर वरीयतामा बढुवा हुँदा लमजुङ घर भएका वरीयता नम्बर ५१ का इन्स्पेक्टर ज्ञानबहादुर खड्का २६ नम्बर वरीयतामा बढुवा भए ।

त्यसैगरी, ७९ नम्बर वरीयताका विकास थापालाई ३३ वरीयतामा बढुवा गर्न गृहमन्त्रीको सचिवालयका सदस्यहरू सफल भएका छन् । गृहमन्त्रीको सचिवालयका सदस्यहरूले ठूलै रकमको लेनदेनका आधारमा आइजी वसन्त कुँवरलाई दबाबका पारेर बढुवा गराएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १५:३५