मनसुन (वर्षायाम सुरु गराउने मौसमी प्रणाली) प्रवेशको पहिलो दिन नै काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । केही समययता अत्यधिक गर्मीको महसुस गरिरहेका यहाँका नागरिकले राहतको महसुस गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बुधबार सबैभन्दा ठूलो वर्षा लमजुङमा भएको छ । लमजुङ लगायत धादिङ, काठमाडौं, हेटौँडा, ओखलढुङ्गा लगायतका जिल्लामा भारी वर्षा भएको छ । बुधबार देशका पहाडी भेगसँगै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको हो ।
तर गण्डकी र लुम्बिनीका तराईं जिल्लासहित कर्णाली र सुदूरपश्चिममा धने अत्यधिक गर्मी छ । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।
रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछिन् । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ । ‘गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ,’ मायाले भनिन्, ‘दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।’
गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ । गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ । बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन् । पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ ।
गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो । टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं