सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न खोप नलगाएकाको खोजी गरिँदै ।

बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका अझै घोषणा हुन बाँकी छन् । खोप सुपरभाइजर श्रेष्ठले बाँकी रहेका चार वटा पालिकामा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने मापदण्ड पुरा गर्ने कार्य तीव्र गतिमा भइरहेकोले छिट्टै घोषणा गरिने बताए ।

उनका अनुसार पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने योजना छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ ।

नियमित खोपबाट छुटेका बालबालिकालाई खोप लगाउनका लागि गत माघदेखि वैशाखसम्म खोज र खोप भन्ने अभियान चलाइएको थियो । खोप फोकल पर्सन श्रेष्ठले छुटेका बालबालिकालाई अभियानले समेटेपछि चार वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहज भएको बताए ।

यो वर्ष दादुरा महामारी फैलिएकाले वैशाखमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन नसकेको खोप फोकल पर्सन श्रेष्ठले बताए । आगामी असारको पहिलो सातासम्ममा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १७:५४