सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक प्रहरीको सक्रियता

बाँकेमा १० महिनामा साढे ३४ हजार सवारी साधन कारबाहीमा

चालु आर्थिक बर्षको १० महिनामा सवारी दुर्घटनामा परेर बाँकेमा ५४ जनाको मृत्यु भएको छ ।

बाँकेमा चालु आर्थिक बर्षको १० महिनामा ३४ हजार ५७५ वटा सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार ट्राफिक नियम उल्लघन गर्नेमा सबैभन्दा धेरै ट्रक र मोटरसाइकल देखिएका छन् । जसअनुसार सबैभन्दा धेरै ११ हजार ५६० ट्रक र ११ हजार १७१ मोटरसाइकल कारबाहीमा परेका छन् ।

त्यस्तै ६ हजार ४९३ जीपकार, २ हजार ५७६ बस, १ हजार ७७० ट्याक्टर र १ हजार ५ टेम्पो तथा अन्य सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । कार्यालय प्रमूख एवं प्रहरी निरीक्षक तिलक सुनारले ट्राफिक नियम विपरित सञ्चालन गरिएका सवारी साधन कारवाहीमा परेको जानकारी दिए ।

ट्राफिक प्रहरीले भने दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनामा जोड दिएसँगै कारबाहीमा पर्ने सवारी साधनको संख्या बढेको प्रहरी निरीक्षक सुनारले बताए । उनका अनुसार मापसे कारवाही, सिटवेल्ट नलगाएका, तीव्र गति, ओभरलोड, सडक लेनको नियम र अनुशासन विपरित गाडी चलाएका सवारी साधनलाई कारबाही गरिएको हो ।

राजस्व संकलन बढ्यो

ट्राफिक प्रहरीको सक्रियता बढेपछि बाँकेमा राजस्व संकलनमा समेत वृद्धि भएको छ । जिल्लामा ट्राफिक प्रहरीले अनुगमनमा सक्रियता बढाउँदै लगेपछि पछिल्ला महिनामा राजस्व संकलन निरन्तर बढेको देखिन्छ । ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजस्व संकलन वृद्धिसँगै सवारी दुर्घटनामा कमी आएको कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुनारले बताए ।

सीमित जनशक्तिका बाबजुद अघिल्लो वर्षको तुलनामा नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको उनले जानकारी दिए । प्रहरी निरीक्षक सुनारका अनुसार सवारी नियम उल्लंघन गरेका, कागजात चुस्तदुरुस्त नराखी सवारी साधन चलाउने लगायतलाई तीव्र रुपमा कारबाही गर्न थालिएपछि राजस्व वृद्धि भएको हो ।

कार्यालय अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा अर्थात् बैशाख मसान्तसम्म २ करोड ६ लाख ४९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । लाइसेन्स र ब्लुबुकबिना सवारी चलाउने, हेल्मेट नलगाउने कार्य व्यापक हुने गरेपछि ट्राफिक सक्रिय भएसँगै राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि सक्रियता बढाएको बताउँदै उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने र अनियमितता बढ्न थालेपछि हामीले बागलुङ बजारका मुख्य र ग्रामीण क्षेत्रमा ट्राफिक नियमबारे सचेतना अभियान सञ्चालन गरेका छौं । अटेर गर्ने सवारी साधनमाथि कारबाही गर्न थालिएपछि राजस्वमा वृद्धि भएको छ भने दुर्घटनामा पनि कमी आएको छ ।’

त्यस्तै, दुई पाङ्ग्रे सवारी साधनले धेरै ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ । ट्रक, रातो प्लेटका पिकअप जीपलगायत सवारी साधनले पनि अत्यधिक ट्राफिक नियम उल्लंघन गरेका छन् । संकलित जरिवाना र कारबाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाए पनि सडक दुर्घटनामा भने कमी नआएको सरोकारवालाहरु बताउँछन् ।

१० महिनामा ९७ वटा सवारी दुर्घटना

बाँकेमा चालु आर्थिक बर्षको १० महिनामा ९७ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९–०८० को साउनदेखि बैशाखसम्म सबैभन्दा धेरै कार्तिक र बैशाख महिनामा १७–१७ वटा गरी ३४ वटा र साउन महिनामा सबैभन्दा कम ४ वटा सवारी दुर्घटना भएका छन् ।

चालु आर्थिक बर्षको असोज महिनामा १३, भदौंमा ११, फागुनमा १० चैतमा ७, पुस र माघ महिनामा ६–६ सवारी दुर्घटना भएका छन् भने सोही अवधिमा ८७ वटा सवारी क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साथै यस सवारी दुर्घटनामा १३४ वटा सवारी साधन दुर्घटनामा संलग्न भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै ७६ वटा मोटरसाइकल छन् भने १४ वटा ट्रक, ११ वटा जीपकार, १० वटा बस, ७ वटा टेम्पो र ५ वटा ट्रयाक्टर दुर्घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । तथ्यांक अनुसार ९ वटा शारीरिक शक्तिले चल्ने (रिक्सा, ठेला आदि) र १ वटा अन्य सवारी साधन सडक दुर्घटनामा संलग्न छन् ।

चालु आवको १० महिनाको अवधिमा सवारी दुर्घटनामा परेर बाँकेमा ५४ जनाको मृत्यु भएको छ । जसमा ४० पुरुष, ८ महिला, ३ बालक र ३ बालिका गरी ५४ जनाको मृत्यु भएको छ भने ४४ पुरुष, ११ महिला, ६ बालक र १ बालिका गरी ६२ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका २१ पुरुष, ५ महिला र २ बालक गरी २८ जना सामान्य घाइते भएको छन् । यस्तै सवारी दुर्घटनामा परेर ७ वटा चौपायाको मृत्यु भएको छ भने २ वटा चौपाया घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । तथ्यांक अनुसार चालु आर्थिक बर्ष सकिन दुई महिना बाँँकी रहँदा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या गत तीन आर्थिक बर्षभन्दा निकै कम छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १३:३३