सूचनाको शक्ति - The Power Of Information

        

रिहा भए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

मंगलबार पक्राउ परेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा भएका छन् । गत शुक्रबार ह्वाइट हाउस छाड्ने बेला ट्रम्पले गोप्य कागजात चुहावट गरेको सहित ३७ वटा मुद्दा दायर भएपछि उनी मंगलबार अदालतबाटै पक्राउ परेका थिए ।

४९ पृष्ठ लामो अभियोगमा सुरक्षालाई खतरामा पार्ने, आणविक र रक्षा गोप्य फाइलहरू गलत रूपमा राखेको आरोप उनीविरुद्ध छन् । सोही मुद्दामा मंगलबार सुनुवाइका लागि उनी अमेरिकी मियामी अदालतमा उपस्थित भएका थिए ।

मियामीको डाउनटाउनको संघीय अदालतको १३ औँ तलामा उपस्थित उनलाई त्यहीँ प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यहाँ प्रहरीले उनको फिङ्गरप्रिन्ट लिई अदालतमा उपस्थित गराएको थियो । अदालतमा ट्रम्पका वकिल टोड ब्लान्चेले १५ मिनेटसम्म ट्रम्प ३७ वटै मुद्दामा दोषी नभएको दलिल पेस गरे ।

सुनुवाइपछि न्यायाधीश जोनथन गुडम्यानले ट्रम्पलाई निःशर्त बाहिरिन अनुमति दिए । तर न्यायाधीशले ट्रम्पलाई आफ्ना सहयोगी वाल्ट नाटासँग कुनै सम्पर्क नगर्न आदेश दिए । उक्त मुद्दामा नाटालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १२:२४