सूचनाको शक्ति - The Power Of Information

        

अझै तीन दिन लूको सम्भावना

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ । बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ ।

महाशाखाले ती भू–भागहरूमा आगामी तिन दिन अर्थात असार १ गते सम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मधेस प्रदेशको पूर्वी भू–भागमा तापक्रम केही घट्ने सम्भावना देखिए पनि गर्मीको सम्भावना रहनाका साथै देशको पश्चिमी पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको छ । ती भू–भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्नाका साथै अत्यधिक गर्मीको नहुने देखिन्छ । मनसुनी वर्षा एक–दुई दिन ढिला हुने सम्भावना साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिला हुने सम्भावना रहेको देखिन्छ । तातो हावा तथा लूबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १६:१३