सूचनाको शक्ति - The Power Of Information

        

हेडक्वार्टरमा एआइजीको चलखेल, आइजीपी निरिह

प्रहरी प्रधान कार्यालयभित्रै प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर निरिह देखिएका छन् । शक्ति केन्द्रसँग हिमचिम गर्दै केही उच्च प्रहरी अधिकारीले चलखेल थालेका छन् । हालैको इन्सपेक्टरबाट डिएसपी बढुवामा त्यस्तो चलखेल देखिएको छ ।

बढुवा समितिका सदस्य सचिव रहेका एआइजी सन्दीप भण्डारीले सो बढुवामा चलखेल गरेको स्रोत बताउँछ । ४६ पदमा १४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा भएकाले डिएसपी बढुवामा यसपटक अनेक खेल भयो । जसको फाइदा केही बिचौलियाले उठाएका छन् ।

एआइजी भण्डारीले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठका दाई मानकाजी श्रेष्ठसँग मिलेर चलखेल गरेको स्रोत बताउँछ । बढुवाका आकांक्षी इन्सपेक्टरहरूलाई मानकाजीसँग भेटाउँदै उनले डिल गराएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ । जसकारण डिएसपी बढुवा विवादित बनेको छ ।

केही बदनाम र इन्सपेक्टरमै अकुत कमाइकसेका अधिकृतहरू समेत सूचीमा पर्दा केही इमान्दार र क्षमतावान अधिकृतहरू छुटेका छन् । सधैं शक्तिकेन्द्रको चाकडी गर्ने तर कार्यक्षमतामा निकै रहेका इन्सपेक्टरहरू बढुवाको अग्रसूचीमा परेका छन् ।

सरुवामा पनि प्रहरी प्रधान कार्यालयभित्रै त्यस्तै चलखेल भएको छ । पाँच महिनाअघि इन्चार्जमा गएका इन्सपेक्टरहरुलाई हटाइने भन्दै उनीहरुबाट लाभ लिन एक समूह सक्रिय छ । गृहमन्त्रीको सचिवालयसँग मिलेर एआइजी भण्डारीले सरुवामा पनि चलखेल गरिरहेका छन् ।

जसरी गत वर्ष मञ्जु खाणले पूजा सिंहलाई मानव स्रोतमा राखेर चलखेल भएको थियो, त्यसरी नै यो वर्ष भन्डारीमार्फत चलखेल भएको छ । त्यही चलखेलका कारण एसपी, डिएसपी र इन्सपेक्टरको नियमित सरुवासमेत निस्कन सकेको छैन । अनावश्यक काज हटाउने आइजिपीको अभियान समेत एआइजी भण्डारीकै कारण असफल हुन थालेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १४:३९