सूचनाको शक्ति - The Power Of Information

        

अल्पमत सरकारको अध्यादेशबाट बजेट

अल्पमतमा परेको कोसी प्रदेश सरकारले संसद्को चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको प्रदेश सरकारले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेकोप्रति प्रदेशसभाका चार दलले विरोध जनाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको चर्को विरोध गरेका हुन् ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०७:१९