आँपको सिजन सुरु भएको छ । गर्मी मौसमको मुख्य फलको रुपमा आँपलाई लिने गरिन्छ । गर्मीमा धेरैजसो मानिसले आँप खाने गर्छन् । आँपको विभिन्न परिकार बनाएर खाने गरिन्छ ।
धेरै फलफूलमा मिसाएर सलाद पनि बनाइन्छ । खानापछि मिठाईको स्थान पनि आँपले पाएको छ । तर ख्याल राख्नुपर्ने मुख्य कुरा के हो भने केहि खानेकुरा र पेय पदार्थहरू छन् जुन आँपसँग वा खाए पछि खानुहुँदैन ।
यी खानेकुरा आँपसँग नखाएकै राम्रो
दूग्धजन्य खानेकुरा – गर्मीमा चिसो रहन दही, लस्सी लगायतका दूधजन्य खानेकुरा धेरै खाने गरिन्छ । अझै धेरैले यी यी खानेकुरा आँपसँगै पनि खाने गरेको देखिन्छ । तर बुझ्नु पर्ने कुरा केहो भने आँप तातो बनाउने खानेकुरा हो । यस्तो अवस्थामा आँप खाएपछि दही खाँदा चिसो र तातो दुवैको प्रभावले स्वास्थ्यलाई हानि पुर्याउँछ । यसले छाला र पेटको समस्या निम्त्याउन सक्छ ।
चिसो पेय पदार्थ – चिसो पेय पदार्थ र आँप दुबैमा चिनीको मात्रा धेरै हुन्छ । यिनको सँगै सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्छ । आँप खाएपछि तुरुन्तै चिसो पेय पदार्थ पिउनाले पाचन प्रक्रियामा असर गर्छ र पेट फुल्ने समस्या हुन सक्छ । आँपसँगै पानी पिउनु हुँदैन किनभने यसले पेटको समस्या पनि निम्त्याउन सक्छ ।
मसलेदार खाना – कतिपयले खुर्सानी–मसालेदार खानापछि मिठाईको रुपमा आँप खान्छन् । तर यी खानेकुराको संयोजनले पेटलाई हानि पुर्याउन सक्छ । पाचन क्रियामा असर पर्ने, पेटमा जलन हुने, एसिडिटी हुने, पखाला लाग्ने, ग्यास हुने र पेट फुल्ने समस्या हुन सक्छ । यस्तो अवस्थामा मसलादार खानेकुरा र आँप लगायत सामान्य खानाबीच दुईदेखि तीन घण्टाको अन्तर राखेको राम्रो हुन्छ ।
भिटामिन–सी युक्त फलहरू – आँप आफैंमा भिटामिन–सी प्रशस्त मात्रामा पाइन्छ, त्यसैले यसलाई अन्य सिट्रस फलफूलसँगै सेवन गर्दा एसिडिटी र पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ । सुन्तला वा कागती जस्ता सिट्रस फलहरूमा एसिडिटीको उच्च स्तरले सामान्य पाचनमा बाधा पुर्याउन सक्छ र छाती जलन वा पेटमा असुविधा हुन सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं