सूचनाको शक्ति - The Power Of Information

        

कलेजमा पढाउन थाले कांग्रेस नेता मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि अध्यापनको नियमित पेशामा फर्किएका छन् । रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत् १९ वर्षपछि नियमित अध्यापन पेशमा फर्किएको जानकारी दिएका छन् ।

रिजालले अमेरिकाबाट पीएचडी गरेका छन् । रिजालले हरेक आइतबार ८ देखि १० बजेसम्म एपेक्स कलेजमा पढाउन लागेको जानकारी दिए । एपेक्स कलेजमा उनको लगानीसमेत छ । जसको स्वामित्व पछिल्लो समय कान्तिपुर मिडिया ग्रुपले किनेको थियो ।

रिजाल नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनले मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा टिकटसमेत पाएनन् । महामन्त्रीमा पराजित भएपछि उनले सम्हालिरहेको रक्षा मन्त्रालयबाट राजीनामा दिएका थिए ।

उनलाई केही साता अगाडि कांग्रेस सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन् । राजनीतिमा पूर्णसमय दिएपछि हप्ताको एक दिन दुईघण्टा नियमित रुपमा अध्यापनमा दिने रिजालले जानकारी दिए ।

‘अमेरिका तीनवर्ष पढाएँ, त्यसपछि नेपालमासमेत पढाएँ,’ रिजालले भने, ‘राजनीतिमा सक्रिय हुँदा पढाउने क्रम छुटेको थियो, यसलाई सातामा एक दिन निरन्तरता दिन लागेको हुँ ।’ उनले व्यवस्थापनमा एमबीए गर्ने विद्यार्थीलाई एपेक्स कलेजमा पढाउने छन् ।

विषय विज्ञ राजनीतिज्ञले केही समय निकालेर अध्यापन काम गर्नुपर्ने रिजाल बताउँछन् । ‘विदेशमा यस्तो प्रचलन भए पनि नेपालमा खासै छैन,’ रिजालले थपे, ‘म आफैंले पनि पूर्णकालीन राजनीति नै गरे पनि केही समय अध्यापनमा दिने निर्णय गरेको हो ।’

रिजालले आफू पूर्णकालीन राजनीतिज्ञ भएको बताए । अमेरिकामा अध्यापन काम गरे पनि नेपालमा भने आफूलाई काठमाडौं विश्वविद्यालयका डा.शुरेश शर्माले अध्यापनमा ल्याएको रिजाल स्मरण गर्छन् ।

‘बाहिर पढेर जानेर आएको व्यक्तिले पढाउन पर्दैन ? भनेर शर्माले भन्नुभएको थियो,’ कांग्रस नेता रिजालले भने, ‘राजनीतिले १९ वर्ष नियमित अध्यापन गर्ने काम हट्यो, अब नियमित हुन्छ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०५:५०