सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव पाँच दिनदेखि सम्पर्कविहीन

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । आफूले चढ्ने गाडी बिक्री गर्न भनेर सुर्खेतबाट कैलाली आएका भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका हुन् । आफन्तको जाहेरीपछि कैलाली प्रहरीले भण्डारीको खोजी तीव्र पारेको छ ।

प्रहरीका अनुसार सुर्खेतमा होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता बुलबुले अटो सेल्सका सञ्चालक समेत रहेका भण्डारी नेपाल अटो डिलर्स एशोसिएन (नाडा) का कर्णाली प्रदेश अध्यक्ष हुन् । उनी जेठ २२ गते सुर्खेतबाट आफूले चढ्ने ईसुजु कम्पनीको पिकअप गाडी बिक्री गर्न भनेर कैलाली आएका थिए ।

सुर्खेतबाट हिँडेको दिन भण्डारी टीकापुरस्थित सिद्धार्थ कटेजमा बसेका थिए । उनले त्यहीबाट राति सुर्खेतमा रहेकी पत्नीलाई अबेर भएकाले टीकापुरमै बास बसेको जानकारी दिएका थिए । त्यसयता उनले कसैलाई सम्पर्क गरेको देखिँदैन । सिद्धार्थ होटलबाट उनी बिहान निस्किएको होटलको सीसीटीभी फुटेजमा देखिन्छ । उनी त्यहाँबाट चिसापानी पुगे ।

चिसापानीमै गाडी छोडेर राति ८ बजे नेपालगन्जबाट आएको हायसमा बसेर पश्चिमतर्फ लागेको चिसापानीमा रहेको सीसीटीभी फुटेजमा देखिएको छ । सुर्खेतबाट निस्किँदा उनको साथमा एक लाख रुपैयाँ रहेको आफन्तले प्रहरीलाई जानकारी दिए पनि गाडीमा भेटिएको पर्स र उनले गाडीमा पैसा राख्ने ठाउँमा पनि पैसा नभएको प्रहरीले बताएको छ ।

चिसापानीबाट हिँडेको हायस अत्तरिया पुग्दा त्यसमा रहेका चार जना बाहिर झर्दा एक जना त्यसैमा रहेको देखिन्छ । तर, उक्त व्यक्तिको पहिचान भने हुन सकेको छैन । हायसका चालकले प्रहरीसँगको बयानमा चिसापानीबाट एक जना व्यक्ति हायसमा चढेको स्वीकार गरेका छन् । तर, ती व्यक्ति कहाँ झरे आफूहरूलाई जानकारी नभएको प्रहरीसँगको बयानमा भनेका छन् ।

चिसापानीमा गाडी छोडेर सम्पर्कविहीन भएका भण्डारीले कर्णालीमा हाम फालेको आशंका गर्दै परिवारजन र प्रहरीले कर्णाली नदी किनारमा समेत खोजी गरेको थियो । तर, उनी हायस चढेर अत्तरियातर्फ गएको पाइएपछि आफन्तजन र प्रहरीले धनगढी, महेन्द्रनगर र नैनीतालसम्म खोजी गरिरहेका छन् ।

आर्थिक संकटका कारण उनी केही समयदेखि तनावमा रहेको बताइन्छ । सोही कारण उनी सुर्खेतबाट कैलाली आएर सम्पर्कविहीन भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले प्रहरीका सबै युनिट र नाकाहरूमा भण्डारीको हुलिया पठाएर खोजी तीव्र पारिएको बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:५५