सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेकाे छ ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्षरूपमा अघि बढ्न दिनुपर्ने माग गर्नुभयो ।

शाहीले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यू यो संसद्को सदस्य पनि हो । तर आज उहाँकाे विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ र सर्वोच्चले ३० गते प्रधानमन्त्रीलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ ।

म यहाँ सभामुखमार्फत सोध्न चाहन्छु– यो  ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ । म प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्न माग गर्दछु । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन ।’

राप्रपाले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गर्नुभएको धारणा संसद् रेकर्डबाट हटाउन माग गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘भर्खरै माननीयज्यूले केही आफ्ना कुरा राख्नुभयो । उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरिने कुरा राख्नुभयो र प्रधानमन्त्रीलाई उहाँले एकोहोराे गैरराजनीतिक तरिकाले लखेटिरहनुभएको छ । प्रधानमन्त्रीको हुर्मत दिनु भनेको राष्ट्रको हुर्मत दिनु हो, म उहाँले व्यक्त गर्नुभएको धारणाहरू रेकर्डबाट हटाउन माग गर्दछु ।’

सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । प्रतिनिधि सभाकाे अर्काे बैठक भाेलि साेमवार दिउँसाे १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:४७