सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा अब ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरिने

सामाजिक सुरक्षा भत्ताका लागि लाईनमा बस्नुपर्ने झण्झट हटाउने उदेश्यले नेपालगञ्ज उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ ।

आगामी आर्थिक बर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिए । ‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ । सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले बताए ।

यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब उपमहानगरपालिकाले पैसा पठाउनेछ । आगामी साउनदेखि पाइलटिंगको रुपमा नेपालगञ्ज उपमहानगरपालिकासहित ५० वटा स्थानीय तहमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका माधव शर्माले जानकारी दिए ।

पञ्जीकरण शाखाले शनिबार नेपालगञ्जमा आयोजना गरेको ’इएफटी र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासंग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरुमा अन्तरक्रिया’ विषयक कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र बैंकका प्रतिनिधिहरुलाई ‘इएफटी’ भुक्तानी प्रणालीका विषयमा अभिमुखीकरण गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शर्माले ‘इएफटी’ बारे जानकारी गराएका हुन ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, समस्या र समाधानका विषयसंगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको पञ्जिकरण शाखाकी तुलसा पन्थी आचार्यले बताईन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लागग्राहीलाई अझ सहज हुने विश्वास व्यक्त गरे । विष्टले उपमहानगरपालिकाले सिधै लाभग्राहीको खातामा पैसा पठाइदिने भएपछि तत्काल पैसा निकाल्न सक्ने सहजता लाभग्राहीलाई हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले ‘इएफटी’ मार्फत लाभग्राहीले प्रविधिमैत्री छिटोछरितो र सहज सेवा पाउन बताए । रिजालले विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने उल्लेख गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:४०