सूचनाको शक्ति - The Power Of Information

        

जहाँ अझै शौचालय छैनन्

बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै ८६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले जनाएको छ । जिल्लामा रहेका ६४ हजार १५३ घरपरिवारमध्ये ८६५ घरमा अझै शौचालय छैनन् ।

तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जिल्लाकोे तथ्याङ्क सार्वजनिक अझै पनि ८६५ घरपरिवारमा शौचालय नभएको, कुवा तथा खुला इनारको पानी प्रयोग गर्ने ५३१ परिवार र नदी तथा खोलाको पानी प्रयोग गर्ने ३१६ परिवार रहेको जानकारी दिए ।

उनका अनुसार जिल्लामा १६७ सार्वजनिक शौचालय छन् भने सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार ८६५, सेफ्टी ट्याङ्की भएको ४७ हजार २६४ परिवार र साधारण खाल्टे शौचालय भएका १३ हजार ९४२ घरपरिवार छन् ।

बाढीपहिरोको जोखिम भएका स्थानमा कतिपयले खाल्टे शौचालय प्रयोग गर्छन् । छिट्टै भत्किने, पहिरोले लैजाने, बाढीले पुर्ने लगायत समस्याका कारण कतिपय घरमा शौचालय नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख तुल्सी बस्नेतको भनाइ थियो ।

‘१० वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । उक्त समयमा सबैको घरमा अस्थायीसम्मको शौचालय थिए । १० वर्षको अवधिमा बढी मात्रामा परिवार छुट्टिदा, बाढीपहिरोका कारण शौचालय नभएका घरको संख्या बढे्को हो,’ प्रमुख बस्नेतले भने ।

अहिलेको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको भन्दै उनले जिल्लामा खानेपानी आयोजना सञ्चालन नभएका, अझै खोला र खुल्ला कुवाको पानी खाइरहेका परिवार धेरै रहेको बताए । घरमा शौचालय नभए पनि सार्वजनिक तथा सयुक्त रुपमा रहेका शौचालय प्रयोग गर्ने परिवार रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

तथ्याङ्क कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा रहेको ६४ हजार १५३ घरपरिवारमध्ये तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको हो । जिल्लाका तत्कालीन सबै गाविसमा घरघरमा चर्पी निर्माण सम्पन्न भइसकेको भन्दै नेपालको ८औँ खुला दिसामुक्त जिल्लाको रुपमा विसं २०७० माघ १६ गते घोषणा गरिएको थियो ।

खुला दिसामुक्त जिल्ला घोषणा भएको १० वर्षपछि ८६५ घरमा शौचालय नहुँनु दुःखद् रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । सार्वजनिक तथ्याङ्कका आधारमा जिल्लामा सरसफाइको अवस्था नाजुक रहेको देखाएको उनको भनाइ छ । शौचालयको अभावले खुल्ला स्थानमा दिसा, पिसाब गर्दा आउ, हैंजा, झाडापखाला लगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्नेमा बरालले जोड दिए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङको जनसङ्ख्या एक लाख १६ हजार १९४ पुरुष, एक लाख ३३ हजार १७ महिला गरी दुई लाख ४९ हजार २११ रहेको छ । विसं २०६८ को जनगणना अनुसार दुई लाख ६८ हजार ६१३ जनसंख्या थियो । अहिले यहाँको जनसङ्ख्या शून्य दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १७:४५