सूचनाको शक्ति - The Power Of Information

        

सिनामंगलमा गोली चल्यो, एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा आइतबार मध्याह्न गोली चलेको छ । लागुऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

प्रहरी नायव महानिरीक्षक कडायतले भने, ‘लागुऔषध कारोबार गर्ने टोलीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि हातपात भएपछि गोली चलेको हो ।’ लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर आरोपी विकास भगत घाइते भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो ।

ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो । भगतको साथबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख थपलियाले जानकारी दिए ।

ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो । लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५–६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १३:२८