एनसेलले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा फैसला आएको छ ।
एनसेलको सेयर खरिद–बिक्रीमा पुँजीगत लाभकरमा लगाएको विषयमा असन्तुष्टि जनाउँदै विश्व बैंक अन्तर्गतको लगानी विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आइसीएसआइडी)मा मुद्दा दायर गरिएको थियो ।
एनसेलले हालेको सो मुद्दा नेपाल सरकारले जितेको हो । गएको शुक्रबार आइसीएसआइडीले नेपाल सरकारको पक्षमा फैसला सुनाएको हो । एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको स्वीडेनको टेलियासोनेराले मलेसियाको एक्जियटालाई कम्पनी बिक्री गर्ने क्रममा लाभकर विवाद भएको थियो ।
टेलिया लाभकर नतिरी बाहिरिएको थियो । टेलिया बाहिरिए पनि दायित्व एनसेलको हुने भन्दै सरकारले लाभकर लगाएको थियो । एनसेलले २१ अर्ब ५४ करोड रुपैयाँ लाभकर तिरेको थियो । सरकारको पक्षमा फैसला नआएको भए एक खर्ब रुपैयाँ हाराहारीको रकम एनसेललाई बुझाउनुपर्ने हुन्थ्यो ।
सत्यपाटी संवाददाता । काठमाडौं