सूचनाको शक्ति - The Power Of Information

        

‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो । कार्यक्रममा रोग र सोबाट जोगिनका लागि परामर्श दिइएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा.राजन पाण्डे बताए ।

उनले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेर मात्रै विवाह गर्ने तथा रोगी र रोगीबीच विवाह गर्न नहुने बताए । उनका अनुसार रगत जाँचपछि प्राप्त रिपोर्ट र सोही आधारमा वितरण गरिएको ‘कार्ड’ हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताए ।

ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा.राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतको टोलीले सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरेको हो ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार राप्तीसोनारीका थारू बाहुल्य चार वटा वडामा करिब तीन हजार ३१३ जनाको रगत जाँच गर्दा ११ सिकलसेलका बिरामी र ३७६ रोगका वाहक फेला परेका छन् ।

उनका अनुसार पछिल्लो पटक वडा नं ६ कमैया डाँडामा ६३१ जनाको नमूना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नं २ कञ्चनापुरमा ४८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना वाहक फेला परेका थिए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकामा सिकलसेल एनिमिया रोग बढ्न नदिन सबै उपाय अपनाइने जानकारी दिँदै सिकलसेलका बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १२:१८