सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कोेहलपुर–नेपालगञ्ज सडकखण्डका अवैध संरचना भत्काउन सुरु

एक घर एक विरुवाको अवधारण

कोहलपुर नगरपालिकाले कोहलपुर–नेपालगञ्ज सडक खण्डअन्तर्गत कोहलपुरको मुख्य बजार क्षेत्रको सडकलाई फराकिलो गर्ने कामलाई तिव्रता दिएको छ ।

कोहलपुर–नेपालगञ्ज सडक खण्डअन्तर्गत कोहलपुर क्षेत्रको मुख्य सडकको दायाँबायाँ २१ मिटर सडक चौडा गर्ने निर्णय अनुसार नगरपालिकाले २१ मिटर भित्र बनाइएका संरचना भत्काउन सुरु गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सडकको केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २१–२१ मिटर भित्र राखिएका निर्माण सामग्री, व्यवसायीक सामानहरु, अतिक्रमित गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु हटाउन सुरु गरिएको बताउनुभयो ।

उहाँले कोहलपुर नेपालगञ्ज सडकखण्डमा राखिएका डिभाइडरले पनि सडक साँघुरो भएकाले सडकभित्र परेका भौतिक संरचना हटाइसकेपछि डिभाइडर पनि हटाउने बताउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बिरबहादुर थापाले सडक अतिक्रमण गरिएकाले पैदल यात्रुलाई हिँड्न समस्या हुने, सवारीसाधनको चाप बढ्दै गएकाले दुर्घटना पनि बढेपछि सडकको बीच भागबाट दायाँबाया दुबै तर्फका अतिक्रमित संरचना हटाउन सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले फुटपाथलाई व्यवस्थापन गर्ने र अतिक्रमित संरचना हटाउने योजना अनुरुप नै कोहलपुर नगरपालिका भित्र पर्ने दुईवटा राजमार्ग रत्न राजमार्ग र पूर्वपश्चिम राजमार्गको सिमा भित्र रहेको अतिक्रमित संरचना भत्काउने बताउनुभयो ।

नगर प्रहरी प्रमुख थापाले अहिले कोहलपुर बजारको फुटपाथ क्षेत्रभित्र रहेका अस्थाई टहराहरु, पेटी, सिंढि, ट्रस लगायतका संरचना भत्काउने काम भइरहेको बताउनुभयो ।

अतिक्रमित संरचना छिटोभन्दा छिटो हटाउने उद्देश्यले दैनिक १२ देखि १८ घण्टा फिल्डमा काम गरिरहेको कर्मचारीको भनाइ छ । अवैध संरचनालाई भत्काउने काम सकेसम्म छिट्टै सम्पन्न गर्ने योजना नगरपालिकाको छ ।

कोहलपुर नगरपालिकाका अनुसार नगरभित्र भौतिक विकाससँगै कोहलपुर सहरलाई हरित नगर बनाउन एक घर एक विरुवाको अवधारण पनि अघि सारिएको छ । सो अवधारणा अनुसार अबदेखि हरेक विरुवा लगाउन अनिवार्य गरिएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार ०९:१२