सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

यौन कथा : अपरिचित यौन

ऊ त्यति मोटीघाटी त होइन, तर उसले त्यही स्पन्जको माध्यमले आफ्नो जवानीलाई अझ तरुण बनाउँदी रैछे ।

म कुनै कुनै सम्झनामा अल्झिँदा आफू पाँच कक्षा पढ्दै गरेको समयमा पुग्छु । जति बेला म यस्तै दश–एघार वर्षकी हुँदी हुँ । कक्षामा केटीहरू हामी चार–पाँच जना थियौँ । सबैभन्दा सानी म नै थिएँ । सबै यौवनको लिस्नो उक्लँदै गरेका थिए । कोही कोही त निक्कै उमेर खाका हुन् कि जस्ता पनि थिए ।

त्यो समयमा आजको समयमा जस्तो सानैमा आफ्ना छोराछोरीहरूलाई पढाउन पाठशालाहरू थिएनन् । त्यसैले पनि उमेरको अन्दाजीमा पाठशाला पठाउन सम्भव पनि थिएन । जो जतिसुकै वर्षका होस् वा जहाँ सहज हुन्छ त्यही समय र त्यहाँ नै पाठशालामा भर्ना गर्ने चलन थियो । अँ एक जना हामीभन्दा निक्कै वयस्क साथी थिइन् । जो हट्टाकट्टा र खाइलाग्दी नै थिइन् ।

उनलाई देख्दा लाग्थ्यो उनी पन्ध्र वर्षकी हाराहारीमा थिइन् कि त्यो समय ? तर पनि हामीसँगै कक्षा पाँचमा पढ्थिन् । उमेरको बढ्दो हिसाबले उनी पढ्नमा अब्बल पनि थिइन् । उनी हेर्दा पनि यसै मोटी र उनको छाती यति मोटो देखिन्थ्यो कि, मानौँ त्यो छाती बालुवाको सम्म्याइएको थुप्रो हो कि ? जस्तो लाग्थ्यो । म अचम्मित बनेर हेर्ने गर्थें ।

यिनको छातीको आकार किन यस्तो होला भनेर । एकदिन उनी घोप्टिएर कक्षा कोठा बढार्दै थिइन् कसो कसो गर्दा माथिको सर्टको टाँक फुस्किन गएछ । अनायास हामी केहीको आँखा त्यहीँ ठोक्किन पुगेछ । उनले छातीमा लगभग एक मिटरको कपडा बेस्सरी बाँधेकी रहिछन् । म त अचम्मित भएँ । किन त्यसरी छातीमा कपडा बेह्रेकी होलिन् ? भन्ने प्रश्न मनमा अल्झियो ।

तर अलिक पर एक दुई जना खासाक खुसुक गर्दै गरेको देखेँ । (सुनेँ ) ‘अँ उसले त आफ्नो बढ्दै गरेको छाती देखिएला भनेर बाँधेकी नि ! बिचरी कति लाज हुँदो हो ? सबैभन्दा तरुनी पनि छे ।’ हुन पनि सबैभन्दा ढड्याक उनी नै थिइन् । उनको त्यस्तो अवस्था देखेपछि मलाई पनि मनमा एक प्रकारको डर उत्पन्न हुन थाल्यो ।

अहो ! मेरो पनि पछि त्यस्तै हुन्छ । त्यो समयमा के गर्ने होला ? कति लाज हुँदो हो ? म त अझ सानो डालकी छु । घरमा सबैको अगाडि कसरी देखा पर्नु होला ? यस्तै यस्तै भ्रमित कुराहरू मनमा खेली रहन्थे । कक्षामा सानी भएकी कारणले सबैले माया पनि गर्थे,जिस्क्याउँथे पनि । कक्षा पाँच पढ्दा पढ्दै ममा पनि केही परिवर्तन देखा पर्न थालेछ ।

कक्षामा एउटी उटपट्याङ गर्ने साथी पनि थिई । ऊ पनि मभन्दा ठुली । सधैँ मलाई जिस्क्याइरहन्थी, चलाइरहन्थी, भनौँ आजभोलिको शब्दमा हो भने इरिटेड गरिरहन्थी । मलाई त्यो साथी त छेउमा नआए पनि हुन्थ्यो जस्तै लाग्थ्यो तर त्यसलाई के मज्जा आउँथ्यो कुन्नि ? मलाई घोचिरहन जिस्क्याइरहन पाउँदा मच्ची मच्ची जिस्क्याउँथी ।

कैले त रुनु न हाँस्नु बनाउँथी । अहिले सम्झिँदा त्यसको आदत अलिक केटाको हो कि ? जस्तो पो लाग्छ । त्यसरी नै हामीले पाँच कक्षा पास गरेर छ कक्षामा पढ्न हाई स्कुलतर्फ लाग्यौँ । त्यो समयमा पाँचसम्म प्राइमरीमा पढ्नुपर्थ्यो । छ कक्षादेखि मात्र हाई स्कुल जाने चलन थियो । एकदिन कक्षामा हामी बसिरहेका थियौँ । छ कक्षामा हामी नयाँ नै थियौँ ।

टिफिनको समय थियो । त्यो केटीले मेरो छेउमा आएर खुसुखुसु गरिरहेकी थिई । हाँस्दै के के भन्दै थिई । सुरुमा त मैले उसले बोलेको कुराको भेउ पाउन सकिनँ । तर पनि मलाई दिक्दारी भने लागिरहेको थियो । केही समय पश्चात् पो ‘रातो मिठाई, रातो मिठाई’ भन्दै हुरुक हुरुक हाँस्दै थिई । पहिला त कुरा बुझिनँ ।

भरै पो मेरो काखीमुनि हेर्दै हाँस्दा थाहा भो कि त्यसले त मेरो जामाको काखी अलिक ठुलो भएकोले सिधै छातीसम्म देखिँदो रहेछ । त्यहीँ हेरेर मलाई उल्लीबिल्ली पार्दै रहिछे । हाई स्कुलमा नयाँ भर्ना भएकाले प्रायले स्कुलको ड्रेस (पोसाक ) नलाई आइरहेका थिए । म पनि त्यही अवस्थामा भएकीले त्यो जामाको काखी ठुलो भएर त्यसले रमिता हेर्दै मलाई उडाउने मौका पाएकी थिई ।

त्यो दिनदेखि त झन् मलाई त्यसको अनुहार समेत हेर्न मन लाग्न छाड्यो । त्यो छेउमा आई कि डर लाग्न थाल्यो । मनमा एक प्रकारको खिन्नता जाग्न थाल्यो । कति नै ठुलो अपराध हुँदै छ कि जस्तो भान हुन थाल्यो । छोरी मान्छे हुनुको पीडा मनमा बल्झिँदै गयो । ‘रातो मिठाई, रातो मिठाई’ भनेको आवाज कानमा गुञ्जिन थाल्यो । अनि त मैले स्कुलको ड्रेस सिलाई नसकुन्जेल स्कुल नजाने निर्णय गरेँ र कति दिनसम्म गइनँ पनि ।

अहो ! कति न ठुलो ममा हास्यास्पद कुरा देखियो अर्थात् नहुनु पर्ने कुरा देखियो भन्ने एक प्रकारको ग्लानि महसुस हुन थाल्यो । शरमको त सीमा नै रहेन । मर्नु भए झैँ भयो । अनि पो बल्ल त्यो अतीतको कुरा सम्झिएँ ! त्यो हामीभन्दा अलिक उमेरले ठुली साथीले किन त्यति साह्रो आफ्नो छाती कसेकी रहिछ भनेर । लाज भन्ने कुरा कहाँ लुकाउन सकिँदो रहेछ र ?

त्यो समयमा एक प्रकारको लाज, अप्ठ्यारोपनले सधैँ मलाई सताइरहन थाल्यो । आफूलाई एक अपराधी झैँ लाग्न थाल्यो । लुकाउनको हैरानीले पराकाष्ठा नाघ्न थाल्यो । कसैको अगाडि सिधा भएर उभिन पनि डर मर्दो हुन थाल्यो । त्यसरी नै त्यो यौवन समयले आफ्नो आयु लम्बाइरहेको थियो । अलि अलि गर्दै त्यो लाज शरम पनि बानीमा परिणत हुँदै गयो । स्कुल जाने क्रममा उमेरले पनि नेटो काट्दै गयो ।

एकपछि अर्को कक्षा उक्लँदै गइयो । कक्षा उक्लँदैपिच्छे नयाँ नयाँ साथीहरू भेटिन थाले । उसरी नै कक्षा आठमा पढ्दा एउटी नयाँ साथी भेटिई । हामी असाध्यै मिल्न थाल्यौं । त्यो मेरै उमेरकी भए पनि मभन्दा खाइलाग्दी र अलिक ठुलो कद्की थिई । यसो हेर्दा त्यसलाई मभन्दा निक्कै वर्ष खाकी हो जस्तो लागे पनि हामी एउटै उमेरका रहेछौँ । त्यसको त छाती पनि निक्कै ठुलठुला देखिन्थे ।

मानौँ त्यो निक्कै वयस्क नै हो जस्तो लाग्ने । एकदिन त्यसले एइ एकछिन बजार जाऊँ न ! भनी । मैले किन जानु ? भन्ने प्रश्न गर्दा एकदुई वटा चेस्टर (ब्रा ) किन्नु छ, जाऊँ न ! भनी । म त छक्क परेँ । अरे ! यो उमेरमै त्यस्तो चिज लाउने ? कस्तो यसलाई लाज पनि नभाको होला ? मनमनै यस्तै प्रश्नहरू गर्दै म आफै भित्रभित्रै सर्माएँ । ऊ त निर्धक्क, निर्लज्जसँग जाऊँ भन्दै अघि अघि लागी । म पछि पछि लागेँ ।

हामी एउटा पसलमा पस्यौँ । उसले दुई चार वटा चेस्टर (ब्रा )छानी । अझ बिना लाज छातीमा टँसाएर नाप्छे पनि, त्यही पसलेको अगाडि । म भने लाजले भुतुक्क हुन्छु तर ऊ निर्धक्कसाथ पैसाको मोलमोलाइ पनि गर्छे । अन्तिममा दुई वटा ब्रा किनी उसले । पसलेले एउटा प्लास्टिकमा पोको पारेर दियो । अनि बाटोमा मैले सोधेँ । तैँले कैलेदेखि यस्तो लाउन थालेकी ? तँलाई यो लाउँदा अप्ठ्यारो र लाज भएन ? भनेर ।

उसले सहजै भनी खै !हौ मेरो त पहिलादेखि नै ठुलठुलो भएकाले मैले लाउन थालेको निक्कै भयो । यो नलाई त मलाई अप्ठ्यारो लाग्छ । हुन पनि उसको अवस्था त्यस्तै थियो । त्यो हिसाबले त म उसको अगाडि सानी किशोरी नै लाग्थेँ । केही समयपछि मलाई पनि भयो जुन छोरी मान्छेलाई तेह्र–चौध वर्ष पुगे पछि हुन्छ । मलाई त पत्तो पनि थिएन त्यस्तो हुन्छ भनेर । मैले त्यो दिन रातो पेन्ट लगाएकी थिएँ ।

काठको पिरामा बसेर भात खाइरहेकी थिएँ । वल्लो पल्लो छेउमा अरू दाजु दिदीहरू पनि पिरामा बसेर भात खाइरहेका थिए । ठिक्क मेरो अगाडि बसेर दिदीले खाना थप्ने काम गरिरहनु भएको थियो । एक्कासि दिदीले मलाई इसारा गरेर उठ उठ भन्नु भयो । म अलमल्लमा परेँ । फेरि तल इसारा गर्नु भो । मैले वहाँको इसारा बुझिनँ । जुरुक्क उठेर पेन्टमा हेरेकी त रातो धब्बा रहेछ । म तिन छक्क भएँ के भयो भनेर । भरै दिदीले अर्थ्याउनु भो ।

अहिले म सम्झिन्छु त्यो समयमा बाह्र तेह्र वर्षको हुँदा पनि केही थाहा हुन्न थ्यो । झन् मलाई त केटीहरूलाई त्यस्तो हुन्छ भनेर थाहा पनि थिएन । यसरी हरेक महिना यो प्रक्रिया सुरु भयो । सुरु सुरुमा त स्कुल जान पनि कस्तो शरम लाग्थ्यो । साथीहरूले थाहा पाउँछन् कि ? भनेर मन त्राहि त्राहि हुन्थ्यो । कति पटक त आफूलाई सम्हाल्न, जोगाउन पनि गाह्रो परेको थियो मलाई । अरूभन्दा पनि कसैले थाहा पाउला कि ? भन्ने चिन्ताले झन् आक्रान्त हुन्थेँ म ।

अहिले सम्झिँदा यो त नारीहरूको जीवनको एक प्रक्रिया रहेछ जो स्वास्थ्य र जय जन्मसँग सम्बन्धित विषय रहेछ । उ बेला यस्तो यौनका कुराहरू सम्झाउने, बुझाउने वातावरण र कुनै माध्यम नभएर होला । त्यो समयका हामी सबै अनजानमै थिएछौँ । यसरी आफ्नो शरीरका अङ्ग प्रत्यङ्गहरूमा परिवर्तन हुँदै गए । आफूलाई पनि आफूमा केही परिवर्तन भएको महसुस हुन थाल्यो । लजालुपन, अप्ठ्यारोपनले आफूलाई बसमा राख्न थाल्यो ।

तर साँच्चै भन्नु पर्दा मैले त्यो ब्रा भन्ने कुरा कहिले र कहाँदेखि प्रयोग गर्न थालेँ त्यसको हेक्का भने मलाई थाहा छैन । हो म किन मेरो अतीतमा यसरी डुब्न पुगेँ भने मैले एउटी पन्ध्र–सोह्र वर्षकी केटीलाई घरमा यसो सघाउपघाउ गर्न राखेकी थिएँ । एकदिन त्यसले आफ्नो लुगाहरू धोएर सुकाउँदै थिई । त्यहाँ दुई वटा स्पन्जका गोलाकार आकारका वस्तुहरू पनि थिए । मैले पहिले त कुरै बुझिनँ । मिलाएर हेरेँ मात्र मलाई अचम्म पनि लाग्यो ।

भरै मैले सोधेँ उसलाई, ‘नानी यी दुई वटा चाहिँ के हुन् नि ?’

उसले निर्धक्कसँग भनी, ‘आन्टी यो छाती सानो हुनेहरूले लाउने हो ब्राभित्र ।’

म त छक्क परेँ । सम्झिएँ आफू संसारको त्यत्तिका ठाउँमा टेक्न पुगियो । थुइक्क ! यति पनि थाहा नहुनु ? हो रैछ मेरो समय पनि । ढुङ्गे युगमै बाँचिएछ । यस्ता साधारण कुरा पनि थाहा नभएर हिजो अस्तिको चिचिलाले भन्नु पर्ने । अझै उसले त हाँस्दै भनी निर्धक्कसँग बिना लाज नै, ‘कहाँ आन्टी आजकल त पछाडि सानो हुनेले पनि पो लाउने स्पन्जको पाइन्छ त !’ भन्दै पछाडिको भाग देखाउँदै भनी । म रनभुल्लमा परेर आफ्नो अतीतमा अलमलिन पुगेछु ।

त्यो केटीले चिटिक्क परेर मेरो अगाडि उभिएर, ‘आन्टी म एकछिन बजार पुगेर आउँछु है ।’ भन्दा पो झसङ्ग भएँ । मैले उसलाई राम्ररी नियालेँ । उसका छाती पनि निक्कै पुष्ट देखिएका थिए । ऊ त्यति मोटीघाटी त होइन, तर उसले त्यही स्पन्जको माध्यमले आफ्नो जवानीलाई अझ तरुण बनाउँदी रैछे । बल्ल बुढेसकालमा पो बुझ्दैछु यस्ता यस्ता रहस्यहरू त ! भनेर म मनमनै हाँस्दै आफ्नो कामतिर लागेँ ।

स्रोत : साहित्य पोष्ट
प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार ०८:३५