सूचनाको शक्ति - The Power Of Information

        

पहिलो बच्चा जन्माउन ३५ वर्षभन्दा ढिलो नगरौँ !

हरेक दम्पतीले सन्तानका विषयमा आपसमा सल्लाह गर्नुपर्छ । इच्छाअनुसार सन्तान जन्माउने कि नजन्माउने, सन्तान जन्माउने भए कहिले, कति समयको अन्तरालमा र कति सन्तान जन्माउने निधो गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उपयुक्त जन्मान्तरका बारेमा जानकारी गराएको छ । केन्द्रका अनुसार २० वर्ष पुगेपछि मात्र पहिलो बच्चा जन्माउन उपयुक्त हुन्छ ।

महिलाको उमेर २० वर्ष पुगेपछि मात्र शारीरिक एवं मानसिक रूपले परिपक्व हुने गर्छ । यस्तै, पहिलो बच्चा जन्माउनका लागि ३५ वर्षभन्दा ढिलो गर्न उपयुक्त नहुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार एक बच्चा जन्माएपछि पुनः अर्को बच्चा तीन वर्षपछि जन्माउनु राम्रो हुन्छ ।

आफैँ वा गराइएको गर्भपतनपछि पुनः गर्भवती हुन महिलाले कम्तीमा ६ महिना कुर्नुपर्नेमा केन्द्रले जोड दिएको छ । दम्पतीले परिवार नियोजनको उपयुक्त साधनको प्रयोग गर्न सक्छन् । परिवार नियोजनलाई व्यवस्थित र सुखी परिवारका लागि सहयोग पु¥याउन अपनाइने उपायका रूपमा लिइने सो केन्द्रले जनाएको छ ।

परिवार नियोजनका फाइदा

१. अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन हुनबाट बचाउँछ । पहिलो बच्चा ढिलो पाउन र दुई बच्चाबीचको जन्मान्तर कायम गर्न सहयोग पुर्याउँछ ।

२. राम्रो स्याहारसुसार पाउनाले आमा र बच्चा दुवैको स्वास्थ्य र पोषण अवस्थामा सुधार हुन्छ ।

३. मातृ, नवजात शिशु तथा बालबालिका बिरामी हुने र मृत्यु हुने दरमा कमी ल्याउँछ ।

४. आफ्ना सन्तानलाई राम्रो शिक्षा प्रदान गर्न सकिन्छ ।

५. व्यक्ति र दम्पतीको आर्थिक उत्थान र सुखी जीवनयापन गर्न मद्दत पुर्याउँछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १५:३६