जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी बनेको एक दशक बढी भयो । जलवायु परिवर्तनबारे चासो र चिन्ताको विषय बन्नुको कारण हो, विश्वमा तापमान बढ्दै जानु । विश्वमा तापमान बृद्धि मानवीय चिन्ता र चुनौतीको विषय बनेको छ । विश्वको तापमान तीव्र गतिमा बढिरहेको छ । गर्मी, अनावृष्टि, सुक्खा र चक्रवात जस्ता वातावरणीय समस्या विश्वभर देखिएको छ ।
अत्याधिक तातो वा चिसोका कारण विश्वभर हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको २० वर्षको अध्ययनले देखाएको छ । पछिल्लो समय विश्वको तापक्रम वृद्धिदर एक दशमलव एक डिग्री सेल्सियस छ । अबको दुई दशकभित्रै एक दशमलव पाँच डिग्रीसेल्सियस पुग्ने वातावरणविद्हरूको आकलन छ । यसबाट जलवायु परिवर्तनले भयावह रुप लिन थालेको प्रस्ट हुन्छ ।
नेपाल पनि यसको प्रभावबाट अछुतो छैन र रहन सक्दैन । वर्षैपिच्छे बाढी पहिरो र आगलागीबाट धनजनको क्षति भइरहेको छ । हिमालहरू पग्लिँदै गइरहेको । हिमनदीहरू सुक्न थालेका छन् । मान्छेको संख्या बढेको बढ्यै छ । वनजंगल नासिँदै छ । जसका कारण खानेपानीको मुहान, ढुंगेधारा, कुवा र इनार सुक्दै गएको छ । जमिनमुनिको पानी भासिन थालेको छ ।
बाढीपहिरो, अनियमित वर्षा कारण सडक, पुल, सिँचाइ, आवास खानेपानीजस्ता प्राकृतिक र भौतिक पूर्वाधारका संरचनाहरू ध्वस्त भइरहेका छन् । जलवायु परिवर्तनकै कारण आर्थिक क्षति, भौतिक पूर्वाधारको क्षयिकरण, बसाइँसराइ जस्ता असुरक्षा बढिरहेको छ । हिमशृङखलाहरू उजाड पहाड बन्ने डर छ । हिमाल आरोहण, प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा जस्ता पर्यटनका केन्द्र जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित भइरहेको छ ।
प्रकृतिका मनोरम र दुर्लभ सम्पदा नष्ट हुने खतरा बढेको छ । हिमालै नरहे हिमाल चढ्ने कुरै भएन । बाढी र पहिरोको जोखिमका बीच कसरी ट्रेकिङ जाने ? त्यसैले हरेक क्षेत्रमा जलवायु परिवर्तनले अत्यन्त नकारात्मक प्रभाव पार्दैछ । हाम्रो जस्तो आर्थिक र राजनीतिक रूपमा कमजोर देशमा यसले पार्ने प्रभाव अझ गहिरो हुन्छ । त्यसमा नाफाको खोजी र व्यापारमा टिकिरहने महत्वकांक्षाले थप संकट थपेको छ । आर्थिक र सामाजिक क्षेत्रहरू यसको प्रभाव गम्भिर रुपमा देखिन थालेको छ ।
मुख्यगरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा प्रभाव पारिरहेको छ । पानी पर्ने प्रक्रियामा आएको परिवर्तनले डढेलो र अत्याधिक गर्मी बढेको छ । थुप्रै नागरिक थाँतथलोबाट विस्थापित हुन बाध्य हुँदैछन् । लामो समय पानी नपर्दा वा थोरै वर्षा हुँदा कृषि प्रणाली प्रभावित हुँदै खाद्य संकट निम्तिरहेको छ । प्राकृतिक वातावरणमा निर्भर कृषक परिवारले जीविकोपार्जनकै निम्ति पनि बसाइँ सर्नुपर्ने बाध्यता आइलाग्दैछ । वातावरणीय परिवर्तनले खडेरी र बसाइँसराइ जस्ता प्रकृतिक असरहरु देखिन थालेका छन् ।
बसाइँसराइका कारण कुनै ठाउँमा जनघनत्व धेरै हुँदा भूमिसम्बन्धी समस्या निम्तिन्छ । मानिस धेरै हुन्छन्, खेती गर्ने जमिन हुँदैन । वर्षभरि पुग्ने अन्न उब्जाउ हुँदैन । सबै आयत गर्नुपर्ने अवस्था हुन्छ । देशमा माटो खोेप्ने डोजरे विकास बढेको छ । माटो गलेको छ । विकासको नाममा डाँडाकाँडा र वन जंगलमा अध्ययनविनै डोजर चलाउँदा एकातिर हरियो वनको विनास भइरहेको छ भने अर्कोतिर मानवीय क्षति बढिरहेको छ । मानवको अभिन्न अंग प्रकृतिको चरम दोहन बढेको छ । चुरेक्षेत्रको बालुवा, डुंगा निकासी गर्ने गरी सरकारले ल्याएको बजेटमा व्यापक विरोधसमेत भइरहेको छ ।
सीमित स्रोतसाधनहरूमाथि ठूलो जनसंख्या यसको प्रभावले सामाजिक द्वन्द्व निम्त्याउने जोखिम रहन्छ । र, योक्रम अझ सघन बन्दै जाने देखिन्छ । यस्ता समस्या जति बढ्दै जान्छ, मानिसलाई त्यति नै जोखिम हुन्छ । यो समस्याहरू सतहमा देखिन थालिसकेको छ । यस्तो अवस्था सिर्जना हुन नदिनु जलवायु परिवर्तनको प्रभाव र त्यसको न्युनिकरण कसरी गर्ने भन्नेबारे मुद्दाकै रुपमा उठाउन आवश्यक छ । जलवायु परिवर्तन एक देशको मात्र समस्या नभएर यो अहिले विश्वकै समस्या हो । त्यसैले जलवायु परिवर्तनबारे अन्तरदेशीय छलफल गरेर त्यसको निराकरणबारे कार्ययोजना बनाउन आवश्यक छ ।
जलवायु परिवर्तनको समस्यालाई एक देशले मात्र समाधान गर्ने अवस्था हुँदैन । हरेक देशले यसबारे सोच्ने अवस्था आएको छ । त्यसो त विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघले पनि पछिल्लो समय जलवायु परिवर्तनबारे चिन्ता व्यक्त गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघले त जलवायु परिवर्तन मानवका लागि सबैभन्दा ठूलो चुनौतीमा रुपमा देखिएको बताइसकेको छ । जलवायु परिवर्तन हुनुमा सीमित देशहरूको गल्ती होलान् । जो विकशित देशहरु रहेका छन् । सहरीकरण बढ्दै जानु, कलकारखाना र उद्योगहरुको बढ्दै जाँदा जलवायु परिवर्तनमा असर बढिरहेको छ ।
सोही कारण जलवायु परिवर्तनका मुद्दालाई हरेक देशले आफ्नो कारण र प्रक्रियाले भइरहेको भन्ने बुझ्नुपर्छ । जलवायु परिवर्तन धनी देशको मात्रै मुद्दा होइन । उनीहरूले मात्रै सल्टाउनुपर्छ अनुचित हुँदैन । हामी सबैले आफ्नो क्षमता अनुसार के गर्न सकिन्छ, गर्नुपर्छ । हरेक राष्ट्रको भूमिका हुन्छ । तर, यस्तो संवेदनशील विषयमा राजनीतिक दलहरूले प्राथमिकतामा राखेको पाइँदैन । नेपालमा यसबारे पर्याप्त बहस भएको छैन । यसले के देखाउँछ भने नेपाल जलवायु परिवर्तनबारे गम्भीर छैन । विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तन कारण हामी मानिस नै हौँ । त्यसैले जलवायु परिवर्तनको न्युनिकरण गर्न हामी नै अग्रसर हुनुपर्छ ।
जलवायु परिवर्तनको प्रतिकूल असरमा न्यूनीकरण गर्ने अब कार्यसूची हुनुपर्छ । राज्यका नीति, योजना र कार्यक्रम त्यतातिर अग्रसर हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकूल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुन जरुरी छ । जलवायु परिवर्तनको विषयलाई आर्थिक लगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरूको नियन्त्रणले समस्त मानवजातीमा सकारात्मक प्रभाव पर्नेछ ।
नवीन राई । काठमाडौं