सूचनाको शक्ति - The Power Of Information

        

बजारमा विषादीयुक्त भारतीय आँपको बिगबिगी

जेठ महिनाको मध्यदेखि फलको राजा भनिने आँप पाक्न सुरु हुन्छ । तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेको छ । वैशाख महिनाको मध्यदेखि नै बजारमा पाकेका आँप धमाधम बिक्री भइरहेको छ ।

हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबैजसो आँपमा विषादी हालेर ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको हुन्छ । जुन मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालको हुने चिकित्सकहरु बताउँछन् ।

नर्भिक अस्पतालका वरिष्ठ चिकित्सक डा शैलेन्द्र कुशवाहाका अनुसार आँप पकाउन प्रयोग गरिने उक्त कार्बाइडमा धातुजन्य आर्सेनिक, फस्फोरसको मात्रा अत्यधिक हुन्छ । त्यसले पानीसंँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउँछ ।

त्यसैले, यसको प्रयोग मानव स्वास्थ्यको लागि निकै घातक रहेको उनको भनाई छ । उनका अनुसार विषादी हालेर पकाइएका आँपले क्यान्सर रोग पनि निम्त्याउन सक्छ । तर, अत्यधिक विषादी प्रयोग गरिएका आँप रोक्न सीमामा सामान्य क्वारेन्टाइन चेकजाँच समेत गरिएको छैन ।

जबकि नेपाल सरकारले क्याल्सियम कार्बाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ । रौतहटका एक स्थानीय भन्छन्, ‘बजारमा भारतबाट सानो गाडीमा ल्याइएको आँप माइकिङ गरेर समेत बेचिरहेको पाइएकाले नागरिकको स्वास्थ्यलाई ख्याल गरी स्थानीय प्रशासनले नियन्त्रणको पहल गर्नुपर्ने देखिन्छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ०६:५६