सूचनाको शक्ति - The Power Of Information

        

मोबाइलमा गेम खेल्ने लतले १२ लाख स्वाहा !

मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट गेम खेलेर रु १२ लाख चट पारेकी हुन् ।

उनले रु तीन लाख २३ हजार १६३ गेममा, रु पाँच लाख ६१ हजार ३३० गेम एप्लिकेसन खरिद गर्न र रु दुई लाख ६७ हजार ३५५ रुपैयाँ १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् । चार महिनाको अवधिमा उक्त रकम खर्च भएको हो ।

आमाको ‘डेबिट कार्ड’ प्रयोग गरेर मोबाइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो ।

समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्नसक्ने गरी आफ्नो डेबिट कार्ड ‘पासवर्ड’सहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च गर्यो भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाइँ भन्न नसकेको जवाफ उनले दिएकी छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ०६:४३