सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा जेठ ३१ सम्म गर्मी विदा थप

नेपालगञ्जमा गर्मी विदा फेरि थप गरिएको छ । गर्मी अत्याधिक बढेपछि जेठ ३१ गतेसम्म विदा थप गरिएको हो ।

यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा गरिएकोमा पुनः २६ गतेसम्म थपिएको थियो । शुक्रवार फेरि चार दिन विदा थपिएको नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । चालू शैक्षिक सत्रको गर्मी विदामा समायोजन हुने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

दिन प्रति दिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विदा थप गरिएको थापाले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईमा आगामी पाँच दिन तातो हावा (लु) यथावत रहने देखिएको र जिल्ला प्रशासन कार्यालय बाँकेबाट पूर्व सावधानी अपनाउन सार्वजनिक अपिल जारी गरिएकाले विदा थपिएको शिक्षा महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १८:५८