सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथमा आजदेखि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

बैजनाथ गाउँपालिकाले शुक्रबारदेखि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा गाउँपालिका स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको हो ।

उक्त शिविरको टिटिहिरिया स्वास्थ्य चौकीमा गाउँपालिका उपाध्यक्ष एवम् प्रमुख अतिथी निर्मला रोकायले उदघाटन गरिन् । शिविर उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रोकायले स्थानीय तहको स्वास्थ्य केन्द्रबाट दिन नसक्ने सेवा शिविरबाट दिइएको बताइन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट सर्बसाधारणले ठुलो लाभ लिनुपर्ने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले ८ वटै वडामा शिविर सञ्चालन हुने भएकाले शिविरमा पुगेर सर्बसाधारणले लाभ लिनुपर्ने बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीका अनुसार शिविरमा छाला सम्बन्धि रोग तथा नसर्ने रोगहरु (मधुमेह, थाईराईड, उच्च रक्तचाप)को उपचार गरिएको छ । शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीलाई निःशुल्क रुपमा औषधी समेत उपलब्ध गराएको उनले बताए ।

उक्त शिविर जेठ २८ गते पनि बैजनाथ ४ को आधारभुत स्वास्थ्य सेवा केन्द्र नौलापुरमा हुनेछ । उक्त ठाउँमा छाला रोग तथा पाठेघर सँग सम्बन्धी समस्याको शिविर सञ्चालन हुनेछ ।

यस्तै जेठ ३० गते वडा नम्बर ७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र पेडारी, जेठ ३२ गते वडा नम्बर ३ को नौवस्ता स्वास्थ्य केन्द्र, असार ३ गते वडा नम्बर १ को चिसापानी स्वास्थ्य चौकी, असार ५ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र डिगिया, असार ७ गते वडा नम्बर ५ को प्राथमिक स्वासस्थ्य सेवा केन्द्र बनकटवा र असार १० गते वडा नम्बर ६ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र गडरहीमा शिविर गरिने शाहीले जानकारी दिए ।

शिविरमा मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जनसम्पर्क प्रमुख यमबहादुर खड्काको नेतृत्वमा फिजिसियन डा. सुरज चौधरी, छाला रोग विशेषज्ञद्धय एलिसा अर्याल र डा. कमलजंग शाही, डा. सत्यप्रकाश वर्मा, ल्याब टेक्निसियनसहित ६ जनाको टोली परिचालन भएको छ ।

गाउँपालिका र अस्पतालबीच भएको सम्झौता अनुसार शिविरबाट रेफर भएका बिरामीलाई अप्रेशनमा २५ प्रतिशत, ल्याब परिक्षणमा ५० प्रतिशत र भर्नामा ५० प्रतिशत छुट दिने ब्यवस्था मिलाइएको जनसम्पर्क प्रमुख खड्काले जानकारी दिए । ‘शिविरमा आउन छुटेका बिरामीलाई पनि गाउँपालिका स्वास्थ्य शाखाको सिफारिसमा रेफर कार्ड लिएर अस्पतालको सम्पर्कमा आउने बिरामीलाई यो सुविधा दिनेछौं,’ उनले भने ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १८:५२