सूचनाको शक्ति - The Power Of Information

        

मौसमविद् भन्छन्

उखरमाउलो गर्मी, चार-पाँच दिन छैन वर्षाको सम्भावना

केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार–पाँच दिन गर्मी यस्तै रहनेछ ।

तराईका धेरैजसो जिल्लामा चार–पाँच दिन नै तातो हावा लू चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक–दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उनले बताए ।

फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने मौसमविद् लामिछानेले बताए । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उनको भनाइ छ ।

तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नकटे पनि न्यूनतम तापक्रम र तातो हावा चल्दा उखरमाउलो गर्मी छ ।

हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुंगामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च थियो । दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तो अवस्था अझै केही दिन रहने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, गर्मी बढेसँगै बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । काठमाडौं उपत्यकासहित देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् । गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएको डाक्टरले बताएका छन् ।

गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले खानपानमा ध्यान दिन पनि डाक्टरको सुझाव छ । गर्मीका बेला प्रशस्त शुद्ध पानी पिउन, बासी खानेकुरा नखान, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओड्न, छहारी तथा शीतल ठाउँमा बस्न, पातलो कपडा लगाउन जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको सुझाव छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०८:०८