सूचनाको शक्ति - The Power Of Information

        

आगामी बजेटमा समेट्नुपर्ने सरसफाई योजनाबारे नेपालगञ्जमा छलफल

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नीति कार्यक्रममा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजना र बजेटका विषयमा बिहीवार छलफल गरिएको छ ।

एसएनभी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा नगरपालिका स्तरीय सरसफाई तथा स्वच्छता प्रबद्र्धनका लागि सहरी सरसफाई योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । बढ्दो जनसंख्या र सहरीकरणका कारण सरसफाई र स्वच्छता व्यवस्थापनमा चुनौती थपिएकाले नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राख्दै यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सरसफाई र स्वच्छतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आगामी बजेटमा यसको दायरालाई अझ फराकिलो पारिने बताए । उनले सरसफाई र स्वच्छताका लागि वडास्तरमै क्रियाशिलता जरुरी रहेको बताए ।

उनले परम्परागत ढंगले फोहर व्यवस्थापनमा काम गर्न नसकिने बताउँदै अब नयाँ प्रविधिको प्रयोग गरेर अत्याधुनिक ढंगले अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । त्यसका लागि निजी क्षेत्रसंग सहकार्य गरेर सरसफाई र स्वच्छतामा परिवर्तन महसूस हुने गरी काम गर्न नेपालगञ्ज उपमहानगरपालिका दृढ संकल्पित रहेको उनको भनाई छ ।

कार्यक्रममा सुशासनको अवस्था, चर्पीको सुविधाहरुमा पहुँच, फोहरपानी (ढल) र दिसाजन्य लेदो व्यवस्थापन, ठोस फोहर व्यवस्थापन, स्वच्छता, हानिकारक फोहर व्यवस्थापनमा हालसम्म भएका उपलब्धि, चुनौती र समस्या समाधानार्थ अबलम्बन गर्न सकिने आगामी योजनाहरुका बारेमा छलफल गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले छलफलमा आएका सरसफाई र स्वच्छता सम्बन्धि सबै कार्यक्रमहरु उत्तिकै महत्वपूर्ण रहेकाले आगामी बजेटमा यी विषयहरु प्राथमिकीकरण गरी समेटिने बताए ।

सुरक्षित कन्टेन्टमेन्टको स्तर बृद्धि (सेफ्टी ट्यांक र सोकपिट निर्माण), दिसाजन्य लेदो प्रशोधन केन्द्रमा डिपीआरको आधारमा लगानी गर्ने, ल्याण्डफिल साइटमा कुहिने फोहरलाई मल बनाउने, दिसाजन्य लेदो सुरक्षित विसर्जनका लागि अस्थायी टेन्चिंग व्यवस्थापन, ठोस फोहरलाई संकलन तथा ढुवानीको स्तरबृद्धि गर्ने, ल्याण्डफिल साइटमा ठोस फोहरलाई छुट्याउन स्तरबृद्धि गर्ने, सार्वजनिक शौचालयको स्तरबृद्धि र सञ्चालन, संस्थागत शौचालय सुधार, हरियाली क्षेत्र विस्तार तथा जल पुनर्भरण संरचना बनाउने, जनावरहरुको सुरक्षित व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्देश्य, एसएनभीले गरिरहेका क्रियाकलाप, सहकार्य गर्न सकिने क्षेत्र लगायतका विषयमा एसएनभीका नाधिरा खवाजा र राजु श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपत शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले गरेका थिए ।

कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगायत उपस्थित थिए । एसएनभीले नेपालगञ्जको सरसफाई र स्वच्छताका क्षेत्रमा लामो समयदेखि धेरै कामहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १८:४०