सूचनाको शक्ति - The Power Of Information

        

बढ्ने क्रममा गर्मी, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने

अझै केही दिन देशभरको तापक्रम उच्च रहनेछ । काठमाडौंसहित देशभर गर्मी हुनेछ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ ।

काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

“आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने देखिन्छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ,” विभागले भनेको छ, “त्यसैले देशका तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना यथावत् रहने देखिएको छ ।”

आज काठमाडौंमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने विभागले जनाएको छ । हिजो काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको थियो ।

आज उच्चतम तापक्रम ४२.२ डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ । विभागले दैनिक मोनिटर गर्दै आएका देशभरका २० वटा तापक्रम मापन स्टेशनले देखाएको पूर्वानुमानअनुसार आज जनकपुरमा ४२.२ डिग्री सेल्सियस तापक्रम पुग्नेछ ।

यो वर्ष नवलपरासीको दुम्कौलीमा ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जुन यो वर्षकै उच्च तापक्रम हो ।  उच्च गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

तातो हावा (लू) बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिने विभागको भनाइ छ ।

यसबाट बच्न तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन विभागको आग्रह छ । बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन पनि विभागको अनुरोध छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०८:०६