सूचनाको शक्ति - The Power Of Information

        

केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार बुटवल आउँदैछन्। बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको बिहान साढे दश बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।

दाहालसँगै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। यही जेठ १५ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारको बिहीवार औपचारिक उद्घाटन हुन लागेको हो।

दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन्। एउटा गोण्डुलामा एकपटममा ८ जना यात्रु सवार गर्न सक्नेछन्।

केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने आयोजना प्रमुख गोकुल साउदले बताए। बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ।

केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ।

राजधानी स्थानान्तरण भएर निराश भएको बुटवललाई केबलकार सञ्चालनले मलम लगाउने अपेक्षा गरेको अध्यक्ष चन्द्र ढकालले बताए। आन्तरिक, भारतीय र तेस्रो मुलुकका बौद्ध धर्मका अनुयायीलाई लक्षित गरेर केबलकार स्थापना गरिएको ढकालले बताए।

यहाँ पर्यटकका लागि १५० बेडको सुविधासम्पन्न होटल, क्यासिनो, ७ सय जनाभन्दा धेरै अटाउने सभाहल सहितको सुविधासमेत प्रयोग गर्न सकिने गरी तयारी गरिएको उनले बताए। पहिलो चरणमा डेढ अर्ब लगानीमा बनेको केबलकारको टप स्टेसनमा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ भने पाँचतारे होटल निर्माण अघि बढ्ने प्रक्रियामा छ।

केबलकार संचालनमा आएसँगै बुटवलको अत्याधिक गर्मी छल्न चिसो मौसम रहने पाल्पाको बसन्तपुरडाँडामा जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ। केबलकार र टप स्टेसनमा स्थापना गरिएको कामाख्या मन्दिरले बसन्तपुरलाई पर्यटकीय गन्तव्य बनाउँदैछ।

२०६० सालदेखि प्रक्रिया अघि बढेको केबलकारको २०७७ फागुन १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०८:०१