सूचनाको शक्ति - The Power Of Information

        

चीनले पृथ्वीमा ३२ हजार फिट गहिरो प्वाल किन बनाइरहेको छ ?

चीनबाट एउटा अचम्मको खबर बाहिर आएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ वैज्ञानिकहरूले पृथ्वीको क्रस्टमा १० हजार मिटर अर्थात् ३२ हजार ८०८ फिट गहिरो प्वाल खनिरहेका छन् ।

वैज्ञानिकहरूले यो प्वाल चीनको सिनजियाङ प्रान्तमा खनिरहेका छन् । सिन्जियाङलाई तेलको धनी क्षेत्र मानिन्छ । रिपोर्टका अनुसार, १० भन्दा बढी महाद्वीपीय वा चट्टानी तहहरू छेड्दै पातलो शाफ्ट पृथ्वीको क्रस्टमा रहेको क्रेटासियस प्रणालीमा पुग्नेछ ।

रिपोर्टमा यो पनि भनिएको छ कि वैज्ञानिकहरूले पृथ्वीको क्रस्टसम्म प्वालहरू खनिरहेका छन् । पृथ्वीको क्रस्टमा पाइने चट्टानको उमेर करिब १४ करोड ५० लाख वर्ष छ । चट्टानको उमेर रक डेटिङको सहयोगमा गणना गरिन्छ ।

पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा गहिरो मानव निर्मित प्वाल रुसी कोला सुपरदीप बोरहोल हो । यसको गहिराई १२,२६२ मिटर अर्थात् ४०,२३० फिट छ । कोला सुपरदीप बोरहोल २० वर्षको ड्रिलिङपछि सन् १९८९ मा बनाइएको थियो ।

रिपोर्टका अनुसार चिनियाँ वैज्ञानिकहरूले मंगलबारदेखि पृथ्वीमा प्वाल खन्न थालेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले यस प्वालको सहायताले सतहभन्दा माथि र तल नयाँ सिमानाहरू खोजिरहेको छ । मंगलबार बिहानै चीनले पहिलो पटक नागरिकलाई अन्तरिक्षमा पठाएको छ ।

गोबी मरुभूमिबाट एक चिनियाँ अन्तरिक्ष यानबाट यात्रीलाई अन्तरिक्षमा पठाइएको छ । यो प्वाल ड्रिलिंग गर्दा आइपरेको समस्याबारे टिप्पणी गर्दै चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिन्सेङले ड्रिलिंग परियोजनामा आइपर्ने समस्यालाई दुई पातलो स्टिलका केबलमा चल्ने ठूलो ट्रकसँग तुलना गर्न सकिने बताए ।

तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ यस परियोजनाका लागि धेरै अघि नै विश्वस्त भइसकेका थिए । सन् २०२१ मा देशका प्रमुख वैज्ञानिकहरुलाई सम्बोधन गर्दै उनले पृथ्वीको अन्वेषणलाई तीव्रता दिने कुरा गरेका थिए ।

चिनियाँ राष्ट्रपतिले यस्ता आयोजनाले खनिज र ऊर्जा स्रोतको खोजीमा सहयोग पुग्ने बताए । यसका साथै भूकम्प र ज्वालामुखी विष्फोट जस्ता वातावरणीय प्रकोपको जोखिम मूल्याङ्कन गर्न पनि सहयोगी हुनसक्छ ।

आयोजनाको नेतृत्व गरिरहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनका अनुसार यो परियोजनाले पृथ्वीको आन्तरिक संरचनाको तथ्याङ्क उपलब्ध गराउनेछ । साथै गहिरो भूमिगत ड्रिलिंग प्रविधिहरू परीक्षण गर्नेछ ।

यो आयोजनाको ड्रिलिंग गर्न ४५७ दिन लाग्ने अनुमान छ । पृथ्वीको आन्तरिक संरचनालाई तीन भागमा विभाजन गरिएको छ । पृथ्वी भित्र तीन भागहरू छन्, माथिल्लो सतह वा पृथ्वीको क्रस्ट, केन्द्रीय भाग (कोर) र आवरण (मन्टल) ।

पृथ्वीको माथिल्लो भागलाई पृथ्वीको क्रस्ट भनिन्छ । पृथ्वीको क्रस्टको मोटाई लगभग ३ देखि ४० किलोमिटर मानिन्छ । यो मुख्यतया बेसाल्ट र ग्रेनाइटबाट बनेको हुन्छ । पृथ्वीको कुल आयतनको ०.५ प्रतिशत पृथ्वीको क्रस्ट हो जबकि ८३ प्रतिशत आवरण हो । बाँकी १६ प्रतिशत भाग कोर हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १०:५५