सूचनाको शक्ति - The Power Of Information

        

सुख्खा बन्दरगाह सञ्चालनपछि नेपालगन्जका व्यवसायी उत्साहित

पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।

लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमा नाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुख्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुख्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौँदेखिको सपना पूरा भएको बताए ।

उनले अब यस क्षेत्रका व्यवसायीले आयात निर्यातका लागि अन्य ठाउँमा भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले भने, ‘यो सुख्खा बन्दरगाह हामी सबैको सपना थियो, जुन अहिले पुरा भएको छ । अब यस क्षेत्रमा निर्यातजन्य उद्योग व्यवसाय बढाउन सबै मिलेर लाग्नुपर्छ ।’

यसैगरी, नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क शर्माले यो बन्दरगाहले सबैभन्दा बढी लाभ जडीबुटी व्यवसायीलाई हुने बताए । उनले अब जडीबुटी निर्यातलाई सहज र सरल बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने माग पनि गरे ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले अब आयात निर्यात निकै सहज हुने र यसबाट उद्योग व्यवसाय फस्टाउने विश्वास व्यक्त गरे । उनले सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक विकासमा एउटा ठुलो सफलता प्राप्त हुने बताए ।

भारत सरकारको एक अर्ब ४७ करोड रुपैयाँ आर्थिक सहयोगमा सन् २०२० नोभेम्बर २५ देखि सुख्खा बन्दरगाह निर्माण सुरु भएको थियो । बन्दरगाहमा ३०० ट्रक र कन्टेनर एकै पटक राख्ने क्षमता रहेको निर्माण कम्पनी राजदीप बिल्डकनले जनाएको छ ।

नेपाल–भारत सिमानाको दुबैतर्फ गरेर ८८ हेक्टरमा फैलिएको बन्दरगाहमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक, कर्मचारीहरूको आवास गृह लगायतका भवनहरू निर्माण गरिएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०८:५१