सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर सजिलै पत्ता लगाउन अब रगत परीक्षण

क्यान्सर विश्वव्यापी रूपमा सबैभन्दा घातक तथा बढ्दो समस्याहरू मध्ये एक हो जसका कारण प्रत्येक वर्ष लाखौंको मृत्यु हुन्छ । समयमै समस्या पहिचान गरी उपचार गर्न सके क्यान्सरबाट हुने मृत्युदर घटाउन सकिने अनुसन्धानकर्ताहरू बताउँछन् ।

प्रारम्भिक चरणमै रोग पत्ता लागे धेरै प्रकारका क्यान्सरका बिरामीको ज्यान बचाउन सकिन्छ । यसका लागि लक्षणहरू पहिचान गरी समयमै जाँच गराउनु आवश्यक छ । यस दिशामा वैज्ञानिकहरूले ठूलो सफलता हासिल गरेका छन् ।

ल्यान्सेट ओन्कोलोजी जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले यस्तो रगत परीक्षणका बारेमा जानकारी दिएका छन् जसको सहयोगमा ५० प्रकारका क्यान्सर पत्ता लगाउन सकिन्छ । यो खोजलाई क्यान्सरको समयमै निदान गर्ने दिशामा ठूलो सफलताका रुपमा हेरिएको छ ।

प्रारम्भिक चरणमा यसको राम्रो नतिजा पनि देखिएको छ । वैज्ञानिकहरूले यो रक्त परीक्षणलाई ग्यालरी टेस्ट नाम दिएका छन् । इङ्ल्यान्ड र वेल्समा यो रगत परीक्षण क्यान्सरको लक्षण भएका व्यक्तिहरूमा गरिएको थियो ।

त्यस्ता करिब ५ हजार व्यक्तिमा प्रत्येक तीनमध्ये दुई जनामा यो परीक्षणबाट क्यान्सरको सही पहिचान भएको बताइन्छ । यो परीक्षणबाट आगामी दिनमा क्यान्सरको जोखिम सजिलै पत्ता लगाउन सकिने र क्यान्सरका कारण हुने मृत्युदरलाई कम गर्न सहयोगी हुने बैज्ञानिकहरुको आशा छ ।

यो परीक्षण कसरी काम गर्छ ?

वैज्ञानिकहरूले ग्यालेरी परीक्षणका माध्यमबाट बिरामीको आनुवंशिक कोडको बिटमा भएका विभिन्न परिवर्तनहरू बुझ्ने प्रयास गरिएको बताए । ती बिट्स विभिन्न प्रकारको क्यान्सरबाट बाहिर निस्कन्छन् ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो परीक्षणमा अझै काम भैरहेको बताएका छन् । उनिहरु भन्छन्, ‘हाम्रो प्रयास यही रगत परीक्षणको मद्दतले एकसाथ धेरै प्रकारका क्यान्सर सजिलै पत्ता लगाउने छ ।’

क्यालिफोर्नियास्थित कम्पनी ग्रालले विकसित गरेको ग्यालेरी परीक्षणले लक्षण नभएका व्यक्तिहरूमा लुकेको क्यान्सर पनि पत्ता लगाउन सक्छ कि भनेर बुझ्ने प्रयोग भइरहेको छ । अन्वेषकहरूका अनुसार ग्यालरी रगत परीक्षणमार्फत क्यान्सर पत्ता लागेका ७५ प्रतिशत मानिसमा परम्परागत परीक्षणबाट पनि क्यान्सर पुष्टि गरिएको थियो ।

यद्यपि ग्यालरी परीक्षणले परम्परागत परीक्षणमार्फत पुष्टि भएका लगभग २.५ प्रतिशत क्यान्सर भएका व्यक्तिमा नकारात्मक नतिजा दियो । निष्कर्षका आधारमा अनुसन्धानकर्ताहरूले यो रगत परीक्षणले ८५ प्रतिशत शुद्धताका साथ रोग पत्ता लगाउन सक्ने दावी गरेका छन् ।

के भन्छन् अनुसन्धानकर्ता ?

ग्यालरी ब्लड टेस्टका प्रमुख अनुसन्धानकर्ता मार्क मिडलटनले मिडियालाई भने, ‘क्यान्सर अझै पनि गम्भीर र जटिल समस्या हो । धेरै अवस्थामा यो तुरुन्तै स्पष्ट हुँदैन । यो रक्त परीक्षणको मद्दतले हामी धेरै प्रकारका क्यान्सर सजिलै पहिचान गर्न सक्छौं ।’

क्यान्सर रिसर्च युकेका डा डेभिड क्रस्बी भन्छन्, ‘यो परीक्षणको प्रयोगले क्लिनिकल मूल्याङ्कन गर्न मद्दत गर्न सक्छ । यद्यपि यसको शुद्धता पहिचान गर्न यसमा थप धेरै पक्षमा अनुसन्धान भैरहेको छ ।’ यो परीक्षणले क्यान्सरको निदानमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०७:१०