सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशभर बढ्यो गर्मी, तराईका केही भू-भागमा ‘लू’

पश्चिमी वायु शक्तिशाली नहुँदा यो वर्ष ३ देखि ५ डिग्री तापक्रम बढेको हो ।

तराईका केही भू–भागमा आज पनि तातो हावा (लू) चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएको छ । केही दिनयता काठमाडौंसहित देशका विभिन्न भागमा गर्मी बढेको छ ।

यो क्रम अझै केही दिन जारी रहने मौसमविद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ । ‘काठमाडौंमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ,’ मौसमविद् झाले भने ।

जनकपुर, भैरहवा, सिमरा, नेपालगन्ज लगायत क्षेत्रमा पनि आज तापक्रम उच्च रहनेछ । मौसमविद् झाका अनुसार यी क्षेत्रमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । तापक्रम कतिपत्रय ठाउँमा बढ्नेक्रममा रहेको र कतिपय ठाउँमा स्थिर रहेको मौसमविद् झाले जानकारी दिए ।

‘अझै केहीदिन अहिले उच्च तापक्रम रहेको ठाउँमा यस्तै गर्मी रहनेछ । पश्चिमी वायु कमजोर रहेको र त्यो पनि पश्चिमी भू–भागमा मात्रै रहेकाले अझै केही दिन यस्तै गर्मी हुनेछ,’ उनले भने, ‘तत्काल पश्चिमी वायु पूर्वतर्फ सर्ने नदेखिएको र थप शक्तिशाली पनि नहुने देखिएकाले गर्मी यथावत नै रहनेछ ।’

उनका अनुसार अझै कम्तीमा तीन दिनसम्म तापक्रम घट्ने सम्भावना न्यून छ । त्यसैले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । तर, पश्चिमी वायुको कमजोर रहेको छ । जसका कारण गर्मी बढेको छ ।

गर्मी बढेकै हो ? यस्तो छ देशभरको तथ्यांक

विगतका वर्षमा पनि जेठमा गर्मी नै हुने तर यो वर्ष पश्चिमी वायु तुलनात्मक रूपमा कमजोर रहेका कारण केही मात्रामा तापक्रम बढेको मौसमविद् झाको भनाइ छ । ‘यसअघिका वर्षमा पनि जुन महिनामा गर्मी हुन्थ्यो । तर, यो वर्ष पश्चिमी वायु कमजोर रहेका कारण थप गर्मी भएको हो,’ उनी भन्छन् ।

उनका अनुसार पश्चिमी वायु शक्तिशाली नहुँदा यो वर्ष ३ देखि ५ डिग्री तापक्रम बढेको हो । आज बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०६:५१