सूचनाको शक्ति - The Power Of Information

        

गर्भिणी राउटेका दुःख

स्वास्थ्य संस्थामा जाँदैनन् गर्भिणी राउटे, बच्चा जन्माउँदा एकान्तमा

सानो समयमै विवाह गरेर सानो उमेरमा नै बिहे गरेर गर्भवती हुन्छन् । उमेर नपुगेर विवाह गर्दा एउटा उनीहरूको उमेर पनि परिपक्व भएको हुँदैन ।

राउटे समुदायकी १७ वर्षीय बाङ्गे शाही गर्भवती छिन् । १३ वर्षको उमेरमा विवाह भयो । १६ वर्षमा पहिलो पटक गर्भवती भइन् । मदिरा सेवनका कारण बाङ्गे शाहीको गर्भपतन भयो । अहिले बाङ्गे दोस्रो पटक गर्भवती भएकी छिन् । चार महिनाको छ गर्भ । तर, बाङ्गे गर्भजाँचका जानेकी छैनन् । ती भएको सात महिना भयो ।

तीन बच्चा छन् । पहिले पनि धेरै जन्माउँदै बितेका थिए । यहाँसम्म पुग्दासमेत फुल्लेरी एकपटक पनि अस्पताल गइनन् । जाने चाहना पनि छैन । बाङ्गे शाही र फुल्लेरी शाही मात्र नभएर यो समुदायका सबैजना महिलाहरू गर्भवती भएपछि स्वास्थ्य संस्थामा गर्भजाँच नगर्ने गरेको राउटे परियोजनामा कार्यरत शिक्षक दुर्गा खत्रीले बताइन् ।

उनका अनुसार राउटे समुदायका सबैजना महिलाले गर्भ जाँच गर्न स्वास्थ्य संस्था नजाने र गर्भजाँच गर्न नमान्ने गरेको उनले बताइन् । ‘गर्भ जाँच गर्न अहिलेसम्म स्वास्थ्य संस्थामा गएका छैनन्, जान पनि मान्दैनन्,’ उनले भनिन्, ‘स्वास्थ्य संस्थामा गएमा सुई लगाउँछन् भन्छन् । र जान हुँदैन हाम्रो पुर्खाले घरमै जन्मायो भनेर भन्ने गर्छन् ।’

घरभन्दा टाढा लगेर बच्चा जन्माउँछन् । सुन्दा अचम्म लाग्ला । अन्य समुदायको महिलाहरू सुत्केरी व्यथा लाग्ने बित्तिकै अस्पताल सम्झिन्छन् । एम्बुलेन्स गाउँमा भए स्ट्रेचर सम्झिन्छन् । तर जङ्गलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदाय कुना काप्चा, खोलाखोल्सी कसैले नदेख्ने ठाउँमा लिएर सुत्केरी गराउँछन् ।

अन्य समुदाय सुत्केरी व्यथा लाग्ने बित्तिकै अस्पताल दगुर्छन् भन्ने यो समुदाय घरभन्दा बाहिर बस्तीबाट पाँच सात मिटर पर लिएर जन्माउने चलन रहेको शिक्षक लालबहादुर खत्री बताए । उनका अनुसार अन्य समुदायले अस्पतालमा जन्मिए पनि दूध चुसाउने चलन छ । तर, यो समुदायले बच्चा जन्माइसकेपछि पुरै समुदाय र घरघरमा नडुलाएसम्म दूध चुसाउँदैनन् ।

उनले भने, ‘सरसफाइ गर्नुको साटो समुदायमा लैजान्छन् । सरसफाइ गर्दैनन् । जसले गर्दा चिसो भएर सुनिने गर्छ ।’ गर्भवती अवस्थामा घरभन्दा पाँच सात मिटर पर बस्ती नदेखिने ठाउँमा लिएर बच्चा जन्माउने गरेको खत्रीको भनाई छ । पहिले पहिले हामी बस्तीमा काम गर्नेलाई समेत त्यो अवस्थामा बस्तीमा समेत प्रवेश गर्न दिँदैन्थे,’ उनले भने, ‘अहिले व्यथा लागेको समयमा बस्तीसम्म प्रवेश गर्न दिन्छन् तर, बच्चा जन्माउने ठाउँमा जान दिदैनन् ।’

जोखिममा आमा र बच्चा

नेपाल सरकारको नियम अनुसार कम्तिमा आठ पटक स्वास्थ्य संस्था पुगेर गर्भजाँच गराउनुपर्छ । तर, राउटे समुदायका महिलाहरूले आठ पटक त के स्वास्थ्य संस्थानै जादैनन् । गर्भवती अवस्थामा स्वास्थ्य संस्था किन नजाने ? भन्ने प्रश्नमा राउटे समुदायकी फुल्लेरी शाहीले भनिन्, ‘हाम्रो पुर्खाले स्वास्थ्य संस्था नगएर घरमै बच्चा जन्मायो । अहिले हामी किन जाने स्वास्थ्य संस्थारु हामी घरमै जन्माउँछौं । स्वास्थ्य संस्था गए सुई लगाउँछन् ।’

त्यस्तै राउटे समुदायकी ४२ वर्षीय गमला शाही पनि स्वास्थ्य संस्था जाने कुरामा सहमत छैनन् । स्वास्थ्य संस्था किन जानुहुँदैन भन्ने प्रश्नमा उनले भनिन्, ‘हाम्रा पुर्खाले यही बस्तीमै जन्मायो । हामीले पनि यही पायौँ । हामी किन जाने स्वास्थ्य संस्था ?’ घरमै सुत्केरी व्यथा लागेर कसैले दुई तीन घण्टामा बच्चा जन्माउने उनले बताइन् । सुत्केरी हुने भएमा कसैले एक दुई घण्टामा पाइहाल्छ,’ उनले भनिन्, ‘कसैलाई बिहानबाट साँझसम्म व्यथा लागेर बच्चा जन्माउँछन् ।’

बच्चा जन्मिसकेपछि घरेलु सामान प्रयोग गरेरै नाभी काट्छन् । उनले भनिन्, ‘चक्कु लगायत अन्य सामान । राउटे समुदायमा सानैमा बिहे गर्छन् । परिवार नियोजन सम्बन्धी ज्ञानसमेत छैन ।’ बच्चा जन्माइसकेपछि नाभी घरेलु सामानले काट्ने गरेको बताए । सानो समयमै विवाह गरेर सानो उमेरमा नै बिहे गरेर गर्भवती हुन्छन् । उमेर नपुगेर विवाह गर्दा एउटा उनीहरूको उमेर पनि परिपक्व भएको हुँदैन ।

गर्भधारण गर्ने, पाठेघर, मानसिक, शारीरिक विकास राम्रोसँग भएको हुँदैन । त्यसमै उनीहरू आमा बन्छन् । यसबाट उनीहरूमा दीर्घकालीन रुपमा समस्या हुन्छ । शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका कारण उनीहरूमा एनिमिया, रगतको कमी हुने, इन्सफेक्सन बढी हुने, बच्चा जन्मिने बेला लामो समयसम्म व्यथा लाग्ने, रगत धेरै बग्ने जस्ता समस्या हुने कर्णाली केयर अस्पताल सुर्खेतमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा सजिप्ता पन्तले बताइन् ।

‘यी र यस्ता समस्यामा पनि स्वास्थ्य संस्थामा पुगेर निरन्तर गर्भ जाँच गरे समयमा नै जानकारी हुन्छन्,’ उनले भने, ‘उनीहरू सानै उमेरमा गर्भवती भएर स्वास्थ्य संस्थामा गएमा सानो उमेरमा गर्भवती हुनुहुँदैन भनेर चेतना हुन्थ्यो । तर, उनीहरू हस्पिटल नै जादैनन् अनि सानो उमेरमा गर्भवती हुनुहुँदैन भनेर कसरी सिक्छन् त । उनीहरूलाई गर्भपतन सम्बन्धी तरिका नभएर नै यस्तो भएको हो ।’

गर्भवती भएको अवस्थामा स्वास्थ्य संस्था पुगेमा गर्भवतीको पाठेघरमा समस्या, थाइराइड, मधुमेह वा अन्य कुनै शारीरिक मानसिक रोगका कारण आमा र बच्चा दुवैको स्वास्थ्यलाई खतरा हुन्छ की भन्ने कुरा जाँच गर्न गए बेलैमा जानकारी हुने डा.पन्तको भनाई छ । त्यही अनुसार औषधी उपचार गर्ने हो,’ उनले भनिन्, ‘नौ महिनासम्म एकपटक पनि जाँच गर्न गएन भने बच्चाको तौल कति छ रु पानीको मात्र कस्तो छ ? बच्चा उल्टो वा सुल्टो पल्टेको छ ? त्यो स्वास्थ्य संस्थामा गएर जाँच नगरेर थाहा नहुने कुरा हो ।’

उनका अनुसार सुत्केरी व्यथा लाग्यो तर, बच्चा उल्टो बसेको छ, तेस्रो बसेको छ भने लामो समयसम्म व्यथा लाग्ने हुन्छ । ‘बच्चा जन्मिन नसक्नै, लामो समयसम्मको व्यथाले आमालाई गाह्रो हुने वा पाठेघर फुट्ने, वा लामो समयसम्म व्यवस्था लाग्यो बच्चा निस्केन । खुट्टा मात्र बाहिर निस्केछ भने राउटे समुदायमा बच्चा तानिदिने हुन्छ । जसले गर्दा बच्चाको ज्यान जान सक्ने, पाठेघर फुट्ने, धेरै रगत बग्ने समस्या बढी हुन्छन्,’ उनले भनिन् ।

नौ महिनासम्म गर्भ जाँच गर्न जादा स्वास्थ्य संस्थाले दुई वटा डोज टिटानसको सुई लगाइदिन्छ । त्यसले गर्भवती अवस्थामा बच्चालाई टिटानसको रोगबाट बचाउँछ । अर्को आइरन क्याल्सियम चक्की दिन्छ, जसले गर्दा आमामा हुने रगतको कमी वा हड्डीहरूको विकासका लागि काम गर्ने पन्तको भनाई छ । राउटे समुदाय जहाँ पुग्छन् त्यहाँ स्वास्थ्यको पहुँचमा नभएकाले र पहिलेबाटै राउटे समुदाय स्वास्थ्य संस्था नजाने गरेकाले स्वास्थ्य संस्था नगएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको भनाई छ ।

‘पहिलो कुरा यो समुदाय पहिलेबाट नै स्वास्थ्य संस्था जाँदैनन्,’ उनले भनिन्, ‘महिनाको र समय अनुसार बस्ती सार्ने काम गर्छन् । जसले गर्दा स्वास्थ्य संस्था नजिक हुँदैनन् ।’ राउटे समुदायका गर्भवती महिलाहरूका लागि आफूहरूले एक जना अनमी नै नियुक्त गरेको उनले बताए । नेपाल सरकारले गर्भवती र सुत्केरीका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरे पनि राउटे समुदायका महिलाहरूलाई त्यसका बारेमा जानकारी छैन । राउटे समुदायमा अझै पुरानै जीवनशैली छ ।

गर्भवती अवस्थामै मदिरा सेवन

राउटे समुदायका महिलाहरू अत्यधिक रुपमा मदिरा सेवन समेत गर्छन । चाहे गर्भवती भएको समयमा होस वा नभएको छ । गर्भवती भएकै अवस्थामा मदिरा सेवन गर्दा १७ वर्षीया बाङ्गे शाहीले जाजरकोट बस्ती बसेको बेला अत्यधिक मदिरा सेवन गरेर लडेर ढुङ्गामा ठोक्किँदा सात महिनाको गर्भ पतन भएको सोसेक नेपालद्वारा राउटे बस्तीमा सञ्चालित राउटे परियोजनामा कार्यरत शिक्षक लालबहादुर खत्री बताए ।

कर्णाली तथा सुदूरपश्चिम आसपासका जङ्गलहरूमा फिरन्ते जीवन बिताउदै आएको फिरन्ते घुमन्ते जाती हो । एउटा ठाउँमा लामो समय नबिताउने । बस्ती सरेको छोटो समयमै आफ्नो बस्ती सर्ने समुदायभित्र पनि पर्छ यो समुदाय । अज्ञानतासँग रमाइरहेको यो समुदाय स्वास्थ्य, शिक्षा लागायतका कुराहरू व्यर्थ रुपमा बुझ्छन् ।

अन्य समुदायका महिलाहरू गर्भ जाँच गर्नका लागि स्वास्थ्य संस्था पुग्छन् । औषधी प्रयोग गर्छन । तर राउटे समुदायका महिलाहरू गर्भवती भएका बेला गर्भजाँचको लागि न त स्वास्थ्य संस्था नै जान्छन्, न त औषधी नै प्रयोग गर्ने गरेका छन् । गर्भावस्थामा प्रसस्त मात्रमा पोषिला खाने कुरा खानुपर्ने हो । तर, पोषिला खानेकुरा खानुको साटो घरेलु मदिरा सेवन गरेको पाइन्छ । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतवार १५:५५