उहाँहरु जो सत्ताको शिखरमा
विराजमान हुनुहुन्छ
उद्भट छन् चैतन्य इन्द्रियहरू
चलायमान देखिन्छन सत्ता संयन्त्र
रङ्गीन छन् विचारका पोशाकहरु
शरीरका दर्जनौँ बगलीभरि
कतै लुकेका हुन्छन् कपटका अस्त्र
कुन बहिर्मुखीको कन्चटमा हान्नुपर्छ
मस्तिष्कघात गर्ने मटेङ्ग्रो
कण्ठस्थ छन् उसलाई
धुर्तशास्त्रका दस्ताबेज र तर्कशास्त्रका हरफहरु
अस्त्र प्रहारका सूत्रहरु
र पुरोहितले झैँ फलाक्ने भ्रामक मन्त्रहरु
उसको दर्शनशास्त्र राता पुस्तकहरु
काला अक्षरहरुको अमिलो डकार
दिगम्बर यात्रा
अजम्बर शक्तिको मनोविज्ञानको ध्वन्यार्थ
‘बादशाहको नयाँ कपडा’
मध्यान्हमा सूर्यको चहक छेकेर
जुलाहाहरुको जन्तीसँग रत्यौलीमा नाँचिरहेको
कुरूप विचारको अर्धनग्न लुठो
उहाँहरु जो सत्ताको
पहरेदारी गर्नुहुन्छ
नृत्यनिपुण, सुमधुर गायनकला
निर्देशित बध्यवादनमा कलाविहीन सप्तस्वर
भक्तजनहरुको कारखानाबाट आउँने करताल
डेमोक्रेसीका बँधुवा, कमैया, कमलरी, हलियाजस्ता
लगौटी हल्लाउने अवोध, बिवस र निर्बल हातहरु
भ्रमको बुर्की छरेर खेतखेतमा
लखेट्दै भूमिपुत्रहरुलाई परदेशमा
पिएर तिनीहरुको तातो पसिनाको मदिरामा
उन्मत्त साँढेझैँ सदा डुक्रिरहन्छन्
सिंहदरवारको उत्तरी ढोकाबाट केही बिरुपाक्षहरु
उहाँहरु जो सत्ताको
निम्नमध्यम श्रेणीमा यात्रा गर्नुहुन्छ
विहड पहाडको टाकुरामा
एकझुण्ड गिद्दहरु सिनोको रासमा रतिराग झैँ
नदीको किनारामा बल्छी थापिरहेको मछुवारे
देहब्यसनको भङ्गिमामा उभिएकी
रेडलाइट कि एक युवतीको लिपिस्टिकको रङ्ग
अस्लिल इसाराको ताली बजाउँदै
भिडभिडमा पस्ने किन्नरहरुको जुलुस
उहाँहरु जो सत्ता निर्माणको
जगको धुलोमा बस्नुहुन्छ
तिमि न रोटी, न लाठी
तिमि पींधमा तरल कुपमंडूप
भरेंगको एकएक सिँडी,कसिङ्गरहरुको रास
पन्छाउँदै, सोहोर्दै र थुपार्दै कन्टेनरमा
झुत्रा, अस्थिपन्जरजस्ता तिमिहरुको करङ्ग
देखाउँने दारा–तिम्रा सपनामा रातो वसन्त !
चपाउँने दारा, तिम्रो चिहानमा उभ्याउने
आफ्ना बंश र झुण्ड–कुण्डहरुको लालदरवार !
तिम्रा मस्तिस्क कुजो बनाउने
मन्दबिषको अग्लोबृक्षको शीतल छहारी
उहाँहरु जो कविता लेखेर
धतुरो झार्नुहुन्छ यावत प्रपन्चहरुको
कथा लेखेर भूइँ मान्छेहरुको
भूकम्प ल्याउनुहुन्छ सत्ताको सिंहासनमा
कहाँ बस्नुहुन्छ थाहा छ कसैलाई ?
रेशम विरही । बरिष्ठ पत्रकार तथा साहित्यकार